• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशका युवालाई प्रधानमन्त्री भएको हेर्ने चाहनाले रास्वपालाई सफलता : उपेन्द्र

मधेशका युवालाई प्रधानमन्त्री भएको हेर्ने चाहनाले रास्वपालाई सफलता : उपेन्द्र
न्यूज टुडे
राजविराज, ०५ असार । 
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका युवालाई प्रधानमन्त्री भएको चाहना राखेको मधेशका मतदाताहरुको सोचले रास्वपाले अहिलेको सफलता पाएको बताएका छन् । जसपा नेपाल सप्तरीद्वारा राजविराजमा शुक्रवार आयोजित पार्टीका अगुवा नेताकार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसको छोरो प्रधानमन्त्री भएकोमा खुशी व्यक्त गरे । बालेन्द्र शाह प्रधानमन्त्री हुँनु मधेसी जनताको सपना साकार भएको उल्लेख गर्दै उनले जसपा नेपालको मुलुकको शासन र प्रशासनमा मधेसीको नेतृत्व पाउनु पर्ने एजेन्डा पूरा भएको बताए ।  उनले मधेसीलाई प्रधानमन्त्री हेर्न चाहेको कारण नै रास्वपालाई मधेश प्रदेशमा सबभन्दा बढी मत दिएको भन्दै त्यस बाहेक कुनै कारण नरहेको जिकिर गरे ।
उनले भौगोलिक राजनीतिकको साथै वैश्विक राजनीतिकको नकारात्मक प्रभाव बढ्दै गएको हुनाले बर्तमान सरकारबाटै  मुलुकमा संघीय गणतन्त्र खतरा रहेको बताए  । 
वर्तमान सरकार समयमै सचेत नभए अगामी दिनमा देशमा उत्पन्न हुने परिस्थितिलाई कसैले रोक्न नसक्ने भन्दै अध्यक्ष यादवले जसले गर्दा देशमा इतिहासकै सबभन्दा ठुलो घटना हुन सक्ने संभावना रहेको भन्दै सचेत गराए । 
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा पार्टी कार्यकर्ताहरु इमान्दारीपुर्वक लागेको स्मरण गर्दै उनले सफल नहुनुको कारण पार्टी नेताकार्यकर्ताको दोष नरहेको उल्लेख गरे । 
 जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, नेता विनोद कुमार सिंह,केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साह,  मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव, कुमर कान्त झा, प्राडा. अमर कान्त  झा, साधना झा, सुनिल कुमार झालगायतकाले पार्टीको आगामी रणनीति बारे धारणा राखे ।