न्यूज टुडे
राजविराज, ०५ असार ।
लालपुर्जा माग गर्दै जारी आन्दोलनलाई निरन्तरता दिदै राजविराजमा शुक्रबार पनि विरोध प्रदर्शन गरिएको छ । शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभएको भन्दै आक्रोशित नगरबासीले आन्दोलनलाई थप सशक्त बन्यूजनाउँदै विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो ।
माग सम्बोधन भन्दा सरकारले दमनको नीति लिएको भन्दै अर्धनग्न जुलुसलगायत विभिन्न स्वरुपको प्रदर्शन थालेका नगरबासीले ‘ग्ते-तारीख चाहिँन्दैन, लालपुर्जा चाहियो’सहितको चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
‘ग्ते-तारीख चाहिंदिन, लालपुर्जा चाहियो’षड्यन्त्रकारी मुर्दाबाद, विटौरी जग्गाको लालपुर्जा दे, हाम्रो माग पुरा गर’ लगायतका चर्को नारा लगाउदै उनीहरुले नगरपरिक्रमा गरे ।
विरोध प्रदर्शनमा सहभागी नगरबासीहरुले प्रहरी दमनको कडा शब्दमा विरोध गर्दै लालपुर्जा पाउने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । उनीहरुले राजविराज शहरको स्थापना कालदेखि नेपाल सरकारबाट प्रदान गरिएको विटौरी जग्गामा बसोबास गर्दै आएको राजविराजबासीहरुले निशर्त लालपुर्जा पाउनु पर्ने एक सुत्रीय माग सारेका छन् ।
बक्ताहरुले हकभोगको आधारमा जग्गको स्वमित्व पाउनु पर्ने माग सार्दै राजविराज जनआन्दोलन संघर्ष समितिले महीना दिन देखि धर्ना लगायतका विभिन्न दवाव मुलक संघर्षका कार्यक्रमलाई दबाउने प्रयास भए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । उनीहरुले विटौरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोश पोखे ।
१९९८ सालदेखि बसोबास गर्दै आएको नगरबासीलाई पटकपटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा वितरण नगरेको नगरबासीको गुनासो छ। हकभोगको आधारमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने एक सूत्रीय माग राखी महिनौंदेखि विभिन्न स्वरुपको चरणबद्व दवावमुलक कार्यक्रम गर्दै आएपनि सरकारले गरेको दवाउने प्रयास सफल हुन नदिने आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताए । गते-तारेखको आश्वासन मात्रले आन्दोलनबाट पछि नहट्ने अडान लिंदै उनले नगरबासीले लालपुर्जा पाउन पर्ने जिकिर गरे ।
नगरपालिकाले विटौरी कर लिदै आएपनि लालपुर्जा वितरणमा चासो नदिएको स्थानीयको आरोप छ । २०२८ सालमा राजविराज शहरको ६० विघा जग्गालाई नापी शाखाले गाउँ ब्लक दावी गर्दै श्रेस्ता कायम गरिएकोले त्यसलाई आधार मान्ने हो भनेपनि जग्गाको लालपुर्जा पाउनुपर्ने आन्दोलनकारीहरुको भनाइ छ ।
नगरपालिकामा कर बुझाएर बैंकमा जग्गा धितो राखी कारोबार हुँदै आएकोमा पछिल्लो समय विटौरी जगाको लालपुर्जा उपलब्ध गराउने भनी सरकारले बैंकलाई देशव्यापी पत्राचार गरेपछि बैंकले धितो बन्धक राख्न रोक लगाएको थियो ।
आन्दोलनरत नगरबासीको आन्दोलनलाई सप्तरी उधोग बाणिज्य संघलगायतका दर्जनौं संघसंस्था तथा राजनीतिक दलहरुले प्रेस विज्ञप्ति जारी गरि तथा विरोध प्रदर्शनमा सहभागी भएर एक्यवद्धता जनाएको छ । पाँच हजारभन्दा बढी परिवारले हकभोग गर्दै आएको विटौरी जग्गाको लालपुर्जा उपलब्ध गराउन नागरिक स्तरबाट समेत दवाव बढेको छ ।
राजविराज नगरपालिका अन्तर्गत १० विघे ब्लक जग्गाको भने यसअघि नापी शाखाको सिफारिसमा मालपोत कार्यालयबाट जग्गाधनी पूर्जा वितरण गरेको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी उर्दी जारी गरेपछि राजविराजबासी थप सशंकित भएका छन् ।