मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवको पहलमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि यो एक सकारात्मक कार्य हो । उसै पनि विगतमा स्थापना गरिएका धेरै पुस्तकालयहरु मासिँदै गएका छन् ।
धेरै शहरमा राम्रा पुस्तकालय स्थापना भएकोमा संरक्षण अभावका कारणले तिनको अस्तित्व लोप हुँदै गएको हो । पुस्तकालयले पठन संस्कृतिको विकासमा सहयोग पु¥याउनका साथसाथै यसलाई ज्ञानको भण्डारकै रुपमा लिने गरिएको छ । अतः यसको स्थापना गर्नु भएका पुस्तकालयको संरक्षणका साथसाथै राम्रा राम्रा पुस्तकहरुको संख्या थपेर विकसित तुल्याउँदै जानुलाई पनि विकासकै एक उदाहरणका रुपमा लिनु पर्ने हुन्छ । ज्ञान, विवेक, चेतनाको स्तर वृद्धि विकासकै एक रुप रहने कुरामा दुई मत हुन सक्दैन । त्यसैले हरेक शहरमा पुस्तकालयको पनि स्थापना गरिँदै आएको परम्परा छ । अहिले मुलुकमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको उपस्थिति छ । ती सबैले कुनै न कुनै रुपमा आ–आफ्नो स्तरबाट विकास निर्माणका कामलाई अघि बढाउने गरेका हुन्छन् । सडक, भवन, ढल, नाला, लगायतका निर्माणलाई मात्र विकास मान्ने भन्दा पनि ज्ञान र चेतनाको आलोकका रुपमा रहेको पुस्तकालय स्थापनालाई पनि विकासका काममा जोड्न सकियो भने त्यो अझै उत्तम कार्य मानिने कुरामा आशंका रहने छैन ।
मधेश प्रदेश भवनमा पुस्तकालय स्थापनाको जसरी सकारात्मक कार्य भएको छ, यो क्रमलाई अझै विस्तार गरी सर्वसाधारणको पहुँच पुस्तकालयसम्म पुग्न सकोस् भन्ने सोचका साथ काम हुन आवश्यक छ ।