• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सर्वोदय माविमा पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति वितरण

सर्वोदय माविमा पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति वितरण
उत्तम आचार्य
कञ्चनरूप, ०५ असार । 
सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालय, कञ्चनपुरका उत्कृष्ट छात्रछात्रालाई पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति  वितरण गरिएको छ । विद्यालयद्वारा शुक्रबार आयोजित विशेष समारोहमा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो।
छात्रवृत्ति वितरणपछि सामुहिक तस्वीरमा । फोटो : न्यूज टुडे
कक्षा ९ बाट १० मा उक्लिँदा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र गंजित सेठ र छात्रा प्रतिभा यादवलाई जनही ७ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र मोहनकुमार रौनियारलाई ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
यसैगरी कक्षा ८ बाट ९ मा जाँदा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र आदित्य  नारायण माझी र छात्रा पूर्णिमा चौधरीलाई जनही ५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने छात्र सक्षम यादवलाई ३ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
कक्षा ७ मा उत्कृष्ट अंक हासिल गर्ने छात्र शिवम स्वर्णकार र छात्रा उषा कुमारी मण्डल तथा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने छात्र सुमित साहलाई जनही २ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
स्वर्गीय पण्डित चक्रप्रसाद आचार्यका पुत्रहरू विश्वमणि आचार्य, श्याममणि आचार्य र मधुसुदन आचार्यले आफ्ना बुवाको स्मृतिमा २०७८ सालमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। पण्डित आचार्यले सर्वोदय माध्यमिक विद्यालय स्थापना भएको २०१३ सालदेखि २०४४ सालसम्म नेपाली र संस्कृत विषय अध्यापन गर्दै विद्यालयमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।
कार्यक्रमका प्रमुख अतिथि रुपनगर नन्दराज संग्रौला क्याम्पस, कञ्चनरूप–१२ का क्याम्पस प्रमुख दीपक गजुरेलले शिक्षा क्षेत्रको स्तरउन्नति बिना समाज र व्यक्तिको जीवन उज्यालो हुन नसक्ने बताए। उनले इच्छाशक्ति, सही दिशा, समर्पण र अनुशासनलाई आत्मसात गर्दै अघि बढे विद्यार्थीहरूको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गरे।
“पुरस्कार भनेको प्रेरणा हो,” उनले भने, “त्यसैले उज्ज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले कडा मेहनतका साथ अध्ययन गर्नुपर्छ।”
द्वारिका आचार्य एकता समाजका सदस्य एवं नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य  उत्तमप्रसाद आचार्यले गरिब, दलित तथा विपन्न वर्गका विद्यार्थीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएकोप्रति प्रशंसा व्यक्त गरे। उनले अनुशासन, जवाफदेहिता र गुणस्तरीय शिक्षा बिना विद्यालय र विद्यार्थी दुवैको भविष्य सुदृढ हुन नसक्ने जिकिर गरे । 
द्वारिका आचार्य एकता समाजका पूर्व अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रधानाध्यापक तारानन्द मल्लिक, प्रधानाध्यापक रमानन्द यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य सचिनकुमार साह, शिक्षक प्रतिनिधि उमेशप्रसाद चौधरी, समाजका कोषाध्यक्ष रामप्रसाद आचार्य, विद्यार्थी सक्षम यादव, गंजित सेठ तथा उषा कुमारी मण्डललगायत वक्ताहरूले स्वर्गीय पण्डित चक्रप्रसाद आचार्यको  योगदानको चर्चा  गर्दै उनीप्रति उच्च सम्मानका साथ अक्षयकोष स्थापना समाजका लागि उदाहरणीय कार्य भएको बताए।
कार्यक्रम सञ्चालन अक्षयकोषका सचिव  देवेन्द्रप्रसाद गुप्ताले गरेका थिए ।