• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार यादवमाथि कुटपिट :  संलग्नलाई कारबाही गर्न महासंघको माग

पत्रकार यादवमाथि कुटपिट :  संलग्नलाई कारबाही गर्न महासंघको माग
न्यूज टुडे
राजविराज,०६ असार । 
गोरखापत्रका सप्तरी प्रतिनिधि देवराम यादवमाथि शनिबार कुटपिट भएको छ । महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवको श्रीमान सुरेन्द्र यादवसहितको समुहले पत्रकार यादवलाई कुटपिट गरेको हो । 
बाटो सम्बन्धि समाचार लेखेको निहुँमा  हुलाकी राजमार्ग अन्तर्गत महादेवा गाउँपालिका १ स्थित खाडो पुलमा साथीहरुसंग कुराकानी गरेर बसिरहेको अवस्थामा सुरेन्द्रसहितका समुहले एक्कासी हेलमेटले कुटपिट गरेको पत्रकार यादवले बताए । टाउको सहित शरीरको विभिन्न भगमा गम्भीर चोटपटक लागेको पत्रकार यादवको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष विन्दु कुमार यादवले जानकारी दिए ।
यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका कार्यबाहक सचिब डम्बर राईले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुटपिटको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई अविलम्ब पक्राउ गरि कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
‘आफ्ना पेशागत जिम्मेवारीमा खटिएका पत्रकारमाथि कुटपिट गरेको घटनाको हामी घोर भर्त्सना र निन्दा गर्दछौं’ कार्यबाहक सचिब राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’नागरिकको सुरक्षा, बाँच्न पाउने अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने यस्ता अपराधिक कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।’
महासंघले घाइते पत्रकार यादवको उपचारको उचित व्यवस्था तथा कुटपिटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै कुटपिटमा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि नबढाए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । 
‘कुटपिटमा संलग्न व्यक्तिहरुलाई अविलम्ब कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न हामी स्थानीय प्रशासन र नेपाल सरकारसंग जोडदार माग गर्दछौं’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
‘कुटपिटबाट  गम्भीर घाइते पत्रकार यादवको उपचारको उचित प्रबन्ध मिलाउन समेत हामी सम्बन्धित निकायसंग आग्रह गर्दछौँ विज्ञप्तिमा भनिएको छ,’दोषीलाई अविलम्ब पक्राउ गरि कारबाही प्रक्रिया अगाडि नबढाए हामी कडा संघर्षमा उत्रन बाध्य हुने जानकारी गराउदछौ । ‘
सुरेन्द्रको निर्देशनमा स्थानीय जगदेव यादवको छोराहरू रविन्द्र यादव,दिपेन्द्र यादव,बासुदेव यादवको छोरा विराजन यादव र सुरेन्द्र यादवको भतिजा कमल यादवले कुटपिट गरेको पीडित पत्रकार यादवले   बताए ।  पत्रकार यादवमाथि भएको हमलाबाट बचाउन गएका स्थानीय चिया पसलका संचालक भोली देवी यादव र उनको छोरा महेश कुमार यादवलाई समेत उक्त समुहले कुटपिट गरि घाइते बनाएको पत्रकार यादवले जानकारी दिए । 
पत्रकार यादव प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी तथा विगत लामो समयदेखि गोरखापत्र दैनिकमा सप्तरी सम्वाददाताको रुपमा कार्यरत छन् ।