निर्माणाधीन पूर्व–पश्चिम कञ्चनपुर–कमला राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित रुपनगर चोक क्षेत्रमा आकाशे पुल (ओभरहेड फुटब्रिज), अन्डरपास तथा व्यवस्थित नाला निर्माणको माग दिनप्रतिदिन तीव्र बन्दै गएको छ। स्थानीयवासी, समाजसेवी, व्यवसायी, विद्यार्थी तथा जनप्रतिनिधिहरूले बढ्दो सवारी चाप, पैदल यात्रुको अत्यधिक आवतजावत र क्षेत्रको रणनीतिक महत्वलाई मध्यनजर गर्दै यस्ता संरचना निर्माण अपरिहार्य भइसकेको बताएका छन्।
पानीको निकास नहुँदा सामान्य बर्षामै जलमग्न सडक । फोटो : न्यूज टुडे
स्थानीयका अनुसार सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहेका बेला आवश्यक नाला निर्माण नहुँदा वर्षायाममा डुबानको समस्या बढ्न थालेको छ। पानीको उचित निकास नहुँदा सडक नै भत्किने जोखिम समेत देखिएको उनीहरूको भनाइ छ।
रुपनगर चोकबाट पूर्वतर्फ विराटनगर, धरान तथा काकडभिट्टासम्म र उत्तरतर्फ फतेपुर हुँदै बेल्टार, रामपुर, चतरा, बराहक्षेत्र, मध्यपहाडी लोकमार्ग तथा काठमाडौंसम्म जोडिने सडक सञ्जाल रहेकाले यो क्षेत्र दैनिक हजारौं यात्रु र सवारीसाधनको आवागमन हुने महत्वपूर्ण ट्रान्जिट केन्द्रका रूपमा परिचित छ। यस कारण सडक पार गर्ने पैदल यात्रुहरू निरन्तर जोखिममा रहने गरेका छन्।
स्थानीय राजकुमार अधिकारीका अनुसार रुपनगर चोक त्रिदिशात्मक रूपमा अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र हो। यहाँ विद्यालय, क्याम्पस, अस्पताल, बित्तिय बैंक तथा अन्य सार्वजनिक सेवा केन्द्रहरू रहेकाले सर्वसाधारणको आवतजावत अत्यधिक हुने गर्दछ।
“यस्तो व्यस्त सडकमा सुरक्षित रूपमा सडक पार गर्ने कुनै प्रभावकारी वैकल्पिक व्यवस्था छैन,” उनले भने, “विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा सर्वसाधारणले दैनिक रूपमा ज्यान जोखिममा राखेर सडक पार गर्नुपर्ने अवस्था छ। समयमै आकाशे पुल वा अन्डरपास निर्माण नगरिए भविष्यमा गम्भीर सडक दुर्घटना हुन सक्ने सम्भावना उच्च छ।”
कञ्चनरूप नगरपालिका–१२ का वडा सदस्य जैनुद्दिन मियाँले निर्माणाधीन राजमार्गले स्थानीयको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने भए पनि नागरिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए। उ
नका अनुसार सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्न र सम्भावित दुर्घटनाबाट जोगिन आकाशे पुल वा भूमिगत मार्ग निर्माण अत्यन्त आवश्यक भइसकेको छ।
स्थानीय व्यवसायी जोगधर यादवले वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ता लिन, बैंकिङ कारोबार गर्न तथा दैनिक आवश्यक कामका लागि सडक वारपार गर्नुपर्ने भएकाले सुरक्षित संरचनाको आवश्यकता झन् बढेको बताए।
अर्की व्यवसायी रिता भुजेलले व्यापारी तथा सर्वसाधारणको सुरक्षित आवतजावत सुनिश्चित गर्न आकाशे पुलसँगै व्यवस्थित नाला निर्माणलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताइन्।
“नाला निर्माण नभए यस क्षेत्र पूर्ण रूपमा डुबानमा पर्ने र सडकसमेत क्षतिग्रस्त हुने खतरा छ,” उनले भनिन्।
शंकर माध्यमिक विद्यालय रुपनगर तथा रुपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूले सडक विस्तारसँगै सडक पार गर्न झन् कठिन बन्दै गएको छ ।’
स्थानीयले नगरवासी तथा विद्यार्थीहरूको सुरक्षाका लागि आकाशे पुल र नाला निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका स्थानीय नेता सुरज पोखरेलले ५० मिटर चौडा सडकका कारण पूर्वतर्फका यात्रुहरू पश्चिमतर्फ रहेको बस स्ट्यान्ड पुग्न जेब्रा क्रसिङमा मात्र निर्भर रहनुपर्ने अवस्था रहेको बताए। उनका अनुसार सडकको डिजाइन स्पिड उच्च भएकाले पैदल यात्रु दुर्घटनाको जोखिम अझ बढेको छ।।
“विकाससँगै नागरिक सुरक्षालाई पनि समान महत्व दिनुपर्छ,” उनले भने, “स्थानीय सरकार, सडक विभाग, निर्माण कम्पनी तथा सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल आवश्यक पहल गर्नुपर्छ।”
स्थानीयवासीहरूले रुपनगर चोक क्षेत्रमा आकाशे पुल, अन्डरपास र व्यवस्थित नाला निर्माणलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गरेका छन । समयमै आवश्यक निर्णय तथा पूर्वाधार निर्माण गरिए सम्भावित सडक दुर्घटना न्यूनीकरण हुनुका साथै सुरक्षित र व्यवस्थित आवागमनको सुनिश्चितता हुने बताउँछन् ।
यसले वर्षायाममा हुने डुबान तथा सडक क्षतिको समस्या समेत समाधान हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।