उत्तम आचार्य
कञ्चनरुप, ६ असार ।
प्रेस स्वतन्त्रता सेनानी एवम् गोरखापत्र दैनिकका सप्तरी संवाददाता देवराम यादवमाथि भएको सांघातिक आक्रमणप्रति प्रेस चौतारी नेपाल सप्तरीद्वारा भर्त्सना गरेको छ । जिल्ला शाखा सप्तरीका सह सचिब उत्सव आचार्यले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रेस चौतारी सप्तरीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै महादेवा गाउँपालिका क्षेत्रमा पत्रकार यादवमाथि सुरेन्द्र यादवसहितको समूहले हेल्मेट प्रहार गरी कुटपिट गरेको घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र विधिको शासनमाथिको चुनौती भएको जनाएको छ।
विज्ञप्तिमा समाचार लेखेकै प्रतिशोधमा सञ्चारकर्मीमाथि भएको भौतिक आक्रमणले सम्पूर्ण पत्रकारिता क्षेत्रलाई स्तब्ध र आक्रोशित बनाएको उल्लेख गरिएको छ। साथै यस्ता अमानवीय र आपराधिक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारिएको छ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीले मुख्य आरोपी सुरेन्द्र यादवसहित घटनामा संलग्न सबै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र कडा कारबाही गर्न स्थानीय प्रशासन तथा नेपाल सरकारसँग माग गरेको छ।
साथै, आक्रमणबाट घाइते भएका पत्रकार देवराम यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको उचित व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ। दोषीमाथि कारबाही प्रक्रिया अघि नबढाइए श्रमजीवी पत्रकारहरूको सुरक्षाका लागि कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत प्रेस चौतारी नेपाल, सप्तरीले दिएको छ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीका सह–सचिव आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत संगठनले अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि धावा बोल्ने गतिविधिविरुद्ध एकजुट भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
यसअघि नेपाल पत्रकार महासंघ सप्तरी, प्रेस सेन्टर नेपाल मधेस प्रदेश, जिल्ला कार्यसमिति सप्तरी, समाजवादी प्रेस संगठनलगायतका आधादर्जन संघसंस्थाले छुट्टाछुट्टै विज्ञप्त्ति कारी गर्दैघटनाको घोरनिन्दा गरेको छ ।