न्यूज टुडे
राजबिराज,०६ मंसिर ।
सप्तरीमा क्रिकेट खेलको गतिविधि सक्रिय भईरहँदा पूर्वाधार अभावले खेलाडीहरू अभ्यास गर्नबाट बन्चित भएका छन् । क्रिकेट प्रतियाेगिता गर्न राजबिराज स्थित पविमाबि क्रिकेट मैदान भएपनि खेलाडीहरूकाे लागी अभ्यास गर्न नेट पिच नहुँदा खेलाडीहरू नियमित अभ्यास गर्नबाट बन्चित भएका हुन् ।
नेट पिच नहुँदा अभ्यास गर्न हामीलाई निकै समस्या भाग्नु परेकाे सप्तरीका राष्ट्रिय खेलाडी अमित यादब गुनासाे गरे । उनले पिच बनाउन सहयाेग गरी नियमित अभ्यास गर्नका लागि पूर्वाधार निर्माण गरि दिन सम्बन्धित सराेकारवाला निकाय तथा सरकारसंग माग गरे ।
आवश्यक पूर्वाधार नहुदाँ खेलाडीहरू अभ्यास गर्न बन्चित मात्र नभई प्रतियाेगिताहरूमा सहभागिता जनाउन राम्राे अभ्यास नहुदाँ राम्राे खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्न नसकिने पुर्व राष्ट्रिय खेलाडी पवन दासले बताए । उनले अहिले अभ्यासका लागि पविमाबि क्रिकेट मैदानकाे दक्षिण साईडमा खेलाडीहरूले आफनै श्रमवाट नेट अभ्यास पिच बनाउने काम सुरू गरेकाे बताए ।
‘सप्तरी क्रिकेट सँघ र केही खेल प्रेमीहरूले पिच निर्माण गर्न सहयाेग गर्नु भयाे तर त्याे सहयाेगवाट प्रयाप्त भएन’ खेलाडी अमित यादबले भने,’पिच सम्पन्न गर्न ईट्टा, वालु, सिमेन्ट तथा लेवरकाे खर्च अभाव देखिएकाेले सहयाेग गरिदिन सरोकारवालासंग अनुरोध छ । ‘
सप्तरी क्रिकेेट सँघका सचिव चन्दनकुमार यादबले खेलाडीहरूकाे लागी नियमित अभ्यास गर्न नेट पिचकाे अभाव रहेको बताए । खेलाडीहरू अभ्यास गर्नवाट बन्चित हुने गरेकाेले अभ्यास गर्न नेट पिच निर्माण कार्यमा सबैले सहयाेग गर्नुपर्नेमा जोड दिए ।
पविमाबि मैदानलाई राष्ट्रियस्तरकाे क्रिकेट मैदान बनाउन सप्तरी क्रिकेेटकाे पहलमा मधेश प्रदेश सरकारले साईड स्किन, टर्फ पिच, खेलाडी पेविलियन जस्ता पुर्वाधार निर्माण कार्यहरू सम्पन्न भएकाे सप्तरी क्रिकेट सँघका सचिव यादबले जानकारी दिए।