न्यूज टुडे
राजविराज,२४ कार्तिक ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधारीसहितका जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै गाउँपालिका अगाडी सोमबार विरोध प्रदर्शन गरीएको छ । गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्व संघर्ष समितिद्वारा विरोध प्रदर्शन गरेको हो ।
सभालाई सम्बोधन गर्दै वक्ताहरुले भ्रष्टाचारले गन्हाएका जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसक्दा असफल हुन पुगेको बताए। आम जनताको भावनामाथि खेलवाडले गाउँपालिकाको यस्तो दुर्दशा भएको टिप्पणी गर्दै वक्ताहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
संघर्ष समितिका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षता आयोजित जागरण सभालाई सम्बोधन गर्दै समितिका प्रवक्ता तुलसी थारुले गाउँपालिकामा भ्रष्टाचारको नयाँ अध्याय सुरु भएको बताए। उनले जडीया अध्यक्षले राजीनामा दिएर मात्र सुशासन कायम हुन नसक्ने बताउँदै सम्पूर्ण जनप्रतिनिधिको राजीनामा नदिएसम्म आन्दोलन नरोकिने चेतावानी दिए । स्थानीय युवा नेता दिनेश कुमार साहले जनप्रतिनिधिहरुको असक्षमताले बालबालिकाहरु शिक्षाबाट वञ्चित भएको तथा नागरिकले स्वास्थ्य तथा अन्य सेवा लिन नपाएको भन्दै आपत्ति व्यक्त गरे ।
कार्यक्रम अन्तर्गत वडा नम्बर ४ स्थित प्रशवानी हटियामा जनजागरण सभा समेत आयोजना गरेको प्रबक्ता थारुले जानकारी दिए ।
कार्यक्रम संचालन संघर्ष समितिका सचिव मिलन कुमार चौधरीले गरेका थिए ।
संघर्ष समितिले अध्यक्षसहित जनप्रतिनिधिहरुले राजिनामा दिनुपर्ने, वडा नम्बर १ स्थित तपेश्वरी हटियामा संचालनमा रहेको अध्यक्षको सचिवालय खारेज गर्नुपर्ने, कर्मचारीहरुलाई तलवभत्ता उपलब्ध गराउनु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका विभिन्न माग राखी आन्दोलनकालाई निरन्तरता दिँदै आएका छन्।