सप्तरीको सप्तकोशी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढी बस्तीमा पस्दा सयौ घर डुबान भएको छ । त्रियुगा नदी तथा खाँडो र जिता नदिको बाढी बस्तीमा पस्दा दर्जनौं घरपरिवार बिचल्लीमा परेको हो ।
बाढीबाट बच्न लाठीको साहारा लिएर सुरक्षित स्थानतर्फ जाँदैं तिलाठी कोइलाडी गाउँपालिका बाढी पीडितहरु । फोटो: न्यूज टुडे
भीषण वर्षापछि त्रियुगा नदीको बाढी ‘ओभरफ्लो’ भएर वडा नम्बर-६ बचही गाउँ नै जलमग्न भएको सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्णा प्रसाद ढकालले बताए । उनका अनुसार अन्य वडाका पनि ५० वटाभन्दा बढी घर डुबानमा परेका छन् ।
बाढीले बचही टोलका ६ परिवारको घर भत्किँदा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । उनीहरूलाई राष्ट्रिय आधारभूत विद्यालय बचहीमा राखिएको नगरप्रमुख ढकालले बताए । गाउँ नै जलमग्न भएपछि स्थानीयलाई उद्धार गर्नका लागि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल नेतृत्वमा बाढी ग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको उद्धार टोली खटिएको उनले बताए ।
‘डुबानमा परेका अन्य परिवारको अवस्था संकलन गर्ने कार्य भइरहेको छ’नगर प्रमुख ढकालले भने “घर भत्किएकाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य पनि भइरहेको छ’ ।
वडा नम्बर २, ३ र ४ मा पनि ५० वटाभन्दा बढी घर डुवान भएको नगर प्रमुख ढकालले बताए ।
‘अन्य वडामा पनि बाढी अवस्था संकलन गर्न हामी स्थलगत पुग्ने क्रममा छौं,’ उनले भने, ‘बाढीबाट पीडित बन्न पुगेका परिवारको उद्धार र स्थानान्तरण पनि सुरक्षाकर्मीको सहयोगमा गरिरहेका छौँ ।’
यसैगरी खाडी र जिता नदीको पानी बस्तीमा पस्दा तिलाठीकोइलाडी गाउँपालिका सयौ घर डुवानमा परिका छन् भने दर्जनौं परिवार विस्थापित भएका छन् । वडा नम्बर ३ को सखरपुरामा ७५ घर,वडा नम्बर २ लौनियाँ स्थित राम टोलमा १ घर भत्किएको छ भने ४ घर डुवानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद संयोजक राजेश कुमार झाले जानकारी दिए ।
यसैगरी सोही गाउँपालिकाका वडा नम्बर ५ स्थित बरसाइनमा २ सय घर परिवार डुवानमा परेको वडा अध्यक्ष ललन राउतले जानकारी दिए ।
डुवानमा परेका परिवारलाई विद्यालय लगायतका उच्च स्थानमा स्तान्तरण गरि सुरक्षित स्थानमा पठाएको छ ।