न्यूज टुडे
राजविराज, १९ असोज ।
सप्तकोशी नदीमा जलसतह उच्च भइ खतरा बढेपछि सवारी आवागमनमा आइतबारदेखी अनिश्चितकालका लागि रोक लगाइएको छ। निरन्तर बर्षासंगै पानीको बाहव बढेपछि यात्रा गर्न जोखिम भएकोले आवतजावतमा रोक लगाइएको हो ।
बिहान ११ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव ५ लाख १० हजार ९ सय ६० क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजतावमा रोक लगाएको जिल्ला विपद समितिले जनाएको छ ।
कोशी ब्यारेज नियन्त्रण कक्षले पानीको बहाव अत्यधिक बढेकोले त्यसैले अर्को सूचना नआएसम्म सवारीसाधनलाई रोक लगाइएको जनाएको छ ।
कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार कोशी ब्यारेजका सबै ढोका खोल्दा पनि पानीको मात्रा कम हुने संकेत नदेखिएपछि सम्पूर्ण आवागमन बन्द गरिएको हो।
कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ। पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।
१३ असोज ०८१ मा ६ लाख ६१ हजार क्युसेक पानी कोशी ब्यारेजमा मापन गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार ५६ वर्षयता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको थियो । कोशी नदीको पानी कोशी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको ३७ देखि १ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको थियो ।
०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वीतटबन्ध भत्काएको थियो। त्यति वेला कोशीले पूर्वीतटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो। त्यति वेला सप्तकोशी नदीले पूर्वीतटबन्ध भत्काउँदा सात हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।