न्यूज टुडे
राजविराज, १४ असोज ।
सप्तरीको अग्नीसाइर कृष्णसारन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीसहित जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै आन्दोलनरत स्थानीयवासीले विदाको समयमा सरकारी गाडी चलाएको पाईएमा नियन्त्रणमा लिएर आगजानी गर्ने चेतावनी दिएका छन् । गाँउपालिका स्तरीय बेथिति विसंगति विरुद्व संघर्ष समतिको नेतृत्वमा संघर्षरत स्थानीयबासीले यस्तो चेतवनी दिएका हुन्।
नैतिक पतन गैरजिम्मवार अध्यक्षका कारण गाउँपालिकामा चरम भ्रष्टाचार बढेको, कर्मचारीलाई दशैंमा समेत तलवभत्ता उपलब्ध गराउन नसकेको, विभिन्न निर्माण व्यवसायी तथा उपभोक्ता समितको भुक्तानी रोकेको, कर्मचारी वीच गुटबन्दी बढाएको गाँउपालिकामा कुशासन र बेथिति उत्कर्षमा पुगेको आरोप स्थानीयको छ ।
गाउँपालिका चलाउन जनप्रतिनिधिहरु पूर्ण रुपमा असक्षम भएकोले अविलम्व राजीनामा दिनुपर्ने,सुशासन कायम गर्नुपर्ने, विभिन्न निर्माण कार्यमा भएको अनियमितता छानविन हुनुपर्ने, सम्पूर्ण गाउपालिका पदाधिकारीको सम्पत्ति छानविन गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
गाउँपालिका अध्यक्षले दिउँसै मदिरा सेवन गरी कार्यालय आउने र सार्वजनिक स्थलमा अश्लिल शब्द प्रयोग गरी गालीगलौज तथा गुप्ताङ्ग देखार पदिय मर्यादा विपरित कार्य गर्दा तथा गाउँपालिकाबासीको सार्वजनिक रुपमा अपमान हुँदा समेत अन्य जनप्रतिनिधि चुइक नबोल्नु यसमा उनीहरूको समेत संलग्न रहेको ठहर गरी सबैको सामूहिक राजीामा माग गरिएको आन्दोलनका अगुवा तुलसी थारुले बताए।
उनले गाउँपालिका अध्यक्ष तथा मौन समर्थन जनाउने सम्पूर्ण जनप्रनितिधीहरुले सामूहिक राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम नरोकिने चेतावनी दिए ।
आन्दोलनकारीहरुले विदाको समय सरकारी गाडी चलाउन नपाउने भन्दै सरकारी गाडी नियन्त्रण लिएर गाउँपालिकमा बुझाएको उनले जानकारी दिए ।
‘पालिका भित्र रहेका सरकारी नम्बर प्लेट भएका सवारी साधनहरु सार्वजनिक बिदा भएको बेला दुरुपयोग नहोस भन्दै नियन्त्रणमा लिई गाउँ प्रहरीलाई जिम्मा लगाई पालिका कार्यलयमा राख्न लगाइएको छ’ उनले भने,’बाहिर रहेका सरकारी सवारी साधनहरु बुझाउन भनेका छौं । सरकारी सवारीसाधन दुरुपयोग गरेको पाईएमा नियन्त्रणमा लिएर आगो लगाउँछौ। यसको जिममेवारी सम्वन्धित जनप्रतीनिधी तथा कर्मचारी आफैले लिनुपर्छ।’
आन्दोलनरत समूहले राखेको माग जायज भएको भन्दै उपाध्यक्ष कल्पना कुमरी चौधरी सहित वडा अध्यक्षहरुले आफूले प्रयोग गर्ने सवारी साधनको साँचो स-स्फुर्त बुझाएर समर्थन गरेको संघर्ष समितिका सचिव मिलन कुमार चौधरीले वताए।
माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने बताउँदै उनले दशैपछी संघर्षका कार्यक्रमलाई थप सशक्त बनाउने जानकारी दिए ।