सप्तरीका कतिपय स्थानीय तहमा अहिले पनि गाउँसभा तथा नगरसभा हुन सकेको छैन । यसले गर्दा तिनलाई विभिन्न काम गर्नमा बाधा उत्पन्न हुने अवस्था आएको छ ।
समयमा सभाको आयोजना गर्नु पर्ने अनिवार्य व्यवस्था रहँदा रहँदै पनि त्यसमा उदासीनता देखाएर लापरवाही गरेपछि जनताप्रतिको जिम्मेवारी पूरा गर्नमा पनि यसबाट समस्या आउने निश्चित नै छ । स्थानीय तहहरु स्थानीय सरकारकै रुपमा पनि रहेका कारण उनीहरुले आफ्नो काम उदाहरणीय रुपमा देखाएर सरकारको औचित्यलाई प्रमाणित गर्न सक्नु पर्ने गहन जिम्मेवारी पनि छ । उदाहरणीय काम गरेर देखाउने क्रममा विकास निर्माण, शिक्षा स्वास्थ्य कृषि सरसफाई खानेपानी बाटोघाटो लगायत विभिन्न शीर्षकमा उल्लेखनीय उपलब्धि हासिल गर्नै पर्ने हुन्छ । यस्ता काम गर्नेतिर लाग्नु त परै जाओस्,समयमा सभा समेत नगरेर आफ्नो कमजोरी प्रदर्शन भईरहँदा पनि चिन्ता नलिने जनप्रतिनिधिले जनता समक्ष गरेको प्रतिबध्दतालाई कसरी पूरा गर्न सक्लान् ? प्रश्न उठ्नुलाई अन्यथा भन्न मिल्दैन । स्थानीय तहहरुमाथि विकास निर्माणका साथसाथै सुशासन र पारदर्शिताको पनि जिम्मेवारी छ । पारदर्शी तबरबाट काम गर्न सकियो भने मात्र जनताको विश्वास जित्न पनि सजिलो हुनेमा दुई मत नहोला । आफ्ना गतिबिधिलाई पारदर्शी रुपले जनसमक्ष राख्न सकियो भने यसबाट जनताका मनमा रहेका कतिपय आशंकालाई पनि धोईपखाली गर्न सहज हुनेछ ।
समयमा सभाको आयोजना हुन सकेन भने त्यसलाई आफ्नै कमजोरीका रुपमा स्वीकार्नु पर्ने हुन्छ । यस प्रकारका कमजोरी हटाउनकालागि पनि समयमा सभाको आयोजना गर्नुको विकल्प रहन्न ।