न्यूज टुडे
राजविराज, ०५ कार्तिक ।
महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका १ घोघिदाहामा संचालित जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता कार्तिक ८ गतेदेखि सुरु हुने भएको छ । जिल्लाकै सबैभन्दा प्रतिष्ठित र पहिलो उपाधिको रुपमा रहेको प्रतियोगिता बारे जनचेतना माविको खेल मैदानमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले यस बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले कार्तिक ८ गतेदेखि सुरु हुने प्रतियोगितामा रौतहट, महोत्तरी, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ गरि विभिन्न ८ वडा चर्चित फुटबल क्लबहरुको सहभागीता रहने बताए । उनले प्रत्येक बर्ष दशै अगाडि सुरु हुने प्रतियोगिता यसपालि जेनजी आन्दोलन र प्रतिकुल मौसमका कारण ढिलो भएको बताए ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै अध्यक्ष चौधरीले नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा स्थानीय स्वयंसेवक परिचालन गरि खेललाई शान्तिपूर्ण र मर्यादित बनाउन सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन पूर्व युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधारीले गर्ने अध्यक्ष चौधारीले बताए।
प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराट नगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले बताए ।
जनचेतना माविको खेलमैदानमा दिउँसो ०२:३० बजे देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा त्रियुगा नगरपालिका उदयपुर र अल्टोकी रौतहट वीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए । खेलको प्रत्येक दिनको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट हुने उनले जानकारी दिए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने पूर्व अध्यक्ष चौधरीले बताए । प्रतियोगिताको हाई स्कोरर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीहरुलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलन आयोजक सह-सचिव महेश प्रसाद विश्वकर्मा, कोषाध्यक्ष संगिता कुमारी सिंह, सदस्य प्रमोद कुमार साह, सल्लाहकार महेश प्रसाद चौधारी, ईन्जिनियर हरी चौधारी, नरेन्द्र चौधारी, बद्री प्रसाद चौधारी र राजेन्द्र प्रसाद चौधारी लगायतका खेलाडीहरु उपस्थित थियो ।