न्यूज टुडे
राजविराज, ३१ असोज ।
नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य एबम् राजधानी दैनिक तथा प्राइम टेलिभिजन सप्तरी सम्वाददाता मनोज माझीमाथि हातपात गर्ने दुइजना पक्राउ परेको छ । शम्भुनाथ नगरपालिका–११ का ब्रहमदेव भगत र सोही स्थानका नारायण खंगलाई बिहीवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबैजनालाई प्रहरी नियन्त्रणमा राखी कानून बमोजिम कारबाही अगाडि बढाइएको जनाएको छ । पीडित पत्रकार माझीलाई प्रहरीले जानकारी गराए अनुसार उनीहरु दुबैलाई बिहीवार नै पक्राउ गरिएको हो ।
गत सोमबार समाचार संकलनको क्रममा पत्रकार माझीमाथि हातपात तथा दुर्व्यवहार र अभद्र व्यवहार भएको थियो । समाचार संकलनका क्रममा शम्भुनाथ नगरपालिका ११ का वडा अध्यक्ष राज कुमार साहको नेतृत्वमा आएको समूहले आक्रमण गरी मोबाइल समेत फुटाएको पीडित पत्रकार माझीको भनाइ छ ।
पीडित पत्रकार माझीले जग्गा घेरवार गरेको र भत्काएको भिडियो लिदा आफूमाथि आक्रमण भएको बताए। आफूले पत्रकारको परिचय सहित प्रेस कार्ड देखाउँदा सुनुवाई नगरी आक्रमणकारीहरुले नियन्त्रमा लिएको बताए।
‘ जग्गा सम्बन्धि अदालतको फैसला कार्यान्वय गर्ने क्रममा बोलाएपछि समाचार संकलन गर्न पुगेका थियौ उनले भने, “ यसरी आक्रमण हुन्छ भन्ने कुरा सोचेको पनि थिईन जनप्रतिनिधिकै हातबाट मार खानुपर्ला भन्ने सोचेको थिइनँ।”
शम्भुनाथ नगरपालिका ११ स्थित पत्रकार माझीलाई प्रहरीकै अगाडि हातपात हुँदा समेत प्रहरी मुखदर्शक रहेको पत्रकार माझीले गुनासो गरे ।
घटना लगत्तै नेपाल पत्रकार महासंघ सप्तरीका टोलीसहित जिल्ला प्रहरी कार्यालय पुगेर पीडित पत्रकार माझीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा विभिन्न व्यक्तिको नाम उल्लेख गरि किटानी जाहेरी दर्ता गराएका थिए ।
पत्रकार माझीको जाहेरी लिदै सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले घटनामा संलग्नहरुलाई अविलम्ब पक्राउ गरि कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।