न्यूज टुडे
राजविराज,२१ भदौ ।
राजविराजमा तेस्रो सप्तरी महोत्सव २०८२ हुने भएको छ । सप्तरी उधोग वाणिज्य संघद्वारा आठ बर्षपछी महोत्सव आयोजना गर्ने भएको हो ।
सप्तरी उधोग बाणिज्य संघले राजविराजमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव बारे जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालूप्रसाद अग्रवालले असोज २२ गते देखी कार्तिक ०६ गतेसम्म १५ दिने सप्तरी महोत्सव आयोजना गरिने बताए । स्थानीय उत्पादनलाई प्रचारप्रसार गरि बजारीकरण गर्दै उधोग व्यवसायीलाई प्रोत्साहन र प्रबर्द्धन गर्ने महोत्सवको प्रमुख उदेश्य रहेको अग्रवालले बताए ।
महोत्सवमा स्थानीय विभिन्न बस्तु तथा सेवाहरुको एकैठाउँमा प्रदर्शनी गरि ग्राहकहरुसंग प्रत्येक्ष अन्तरक्रिया, स्थानीय कलाकार तथा कलासंस्कृतिको प्रबर्द्धन गर्ने, पर्यटन, स्वास्थ्य शिक्षा क्षेत्रमा अवसरको खोजी जस्ता गतिविधि गरिने जनाएको छ ।
महोत्सवमा १ लाख ५० हजारबढी अवलोकनकर्ता आउने आकलन गरिएको छ भने कृषि उपज, थारु, मिथिला खाना,राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने अध्यक्ष अग्रवालले बताए । उनले स्थानीय कलाकार भुपेन्द्र कुमार मण्डल (रामलाल) विनय सोनु, भारतीय चर्चित कलाकार माही मनिसा, नेपाली चर्चित कलाकार दुर्गेश थापासहित, विभिन्न जातजातिले दैनिक आ-आफ्नो कला संस्कृति प्रस्तुत गर्ने बताए ।
महोत्सवमा आउनेहरुका लागि १ सय प्रवेश शुल्क राखिएको जानकारी दिदै उनले स्वयंसेवक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइएको बताए ।
सप्तरी उधोग बाणिज्य संघका महासचिव अमृत संचेतीले स्थानीय उधोग, पर्यटन विकासमा महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे । राजदेवी, भगवती पोखरी, छिन्नामस्ता, मन्दिर, कंकालिनी मन्दिर, शनि मन्दिर, शम्भुनाथ मन्दिर, अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ मा अवस्थित त्रिरत्न गुम्बालगायतका धार्मिक पर्यटकीय क्षेत्रको प्रसार-प्रसार र विकासमा महोत्सवले टेवा पुग्ने विश्वास राखिएको बताए ।
तेस्रो सप्तरी महोत्सव २०८२ को सह आयोजकमा जिल्लाका १८ वटै स्थानीय तहलाई राखिएको छ भने मिडिया पार्ट्नरमा नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई राखिएको छ ।
स्थानीय उत्पादनका लागि निशुल्क स्टल तथा १ सय ५० बढी स-शुल्क व्यापारीक स्टलको व्यवस्था गरिएको महोत्सवमा एक करोड ६८ लाखको कारोबार हुने अनुमान गरिएको महोत्सवको दैनिक गतिविधि पत्रकार सम्मेलनबाट सार्वजनिक गरिने आयोजक समितिले पत्रकार सम्मेलनमा जनाएको छ ।
सप्तरी उधोग वाणिाज्य संघले पहिलो पटक २०६८ साल र दोस्रो पटक २०७४ सालमा सप्तरी महोत्सव आयोजना गरेका थिए ।