• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी न्यायीक कामकारबाहीको लागि राम्रो ठाउँ हो’: वरिष्ठतम् न्यायाधीश ज्ञवाली 

सप्तरी न्यायीक कामकारबाहीको लागि राम्रो ठाउँ हो’: वरिष्ठतम् न्यायाधीश ज्ञवाली 
न्यूज टुडे
राजविराज,२० भदौ ।
उच्च अदालत जनकपुर – राजविराजका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले न्यायीक कामकारबाहीका लागि सप्तरी राम्रो ठाउँ भएको बताएका छन् । सप्तरीबाट सरुवा भएका न्यायाधीश ज्ञवालीले  राजविराज स्थित आफ्नै निवासमा शुक्रबार   आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला बसाईको अनुभव सुनाउँदै यस्तो बताएका हुन् । 
पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठतम् न्यायाधीश ज्ञवाली र न्यायाधीश पाण्डे । फोटो : न्यूज टुडे
पत्रकारसंग कुराकानी गर्दै अदालतका  वरिष्ठतम् न्यायाधीश ज्ञवालीले  अन्य जिल्लाको अनुभव सुनाउँदै अरु ठाउँभन्दा सप्तरीमा सहज रुपमा काम गर्ने बाताबरण पाएको बताए । 
“सप्तरीलाई  बाहिरबाट हेर्ने दृष्टिकोण नकारात्मक र फरक थियो । तर, मैले यस्तो कहिल्यै पाईन’ उनले भने,’सप्तरीमा सेवाग्राही तथा आम जिल्लाबासीको अदालतप्रतिको सम्मान, कामगर्ने बाताबरण, न्यायीक संस्कार पनि छ । सप्तरी न्यायीक कामकारबाहीको लागि राम्रो जिल्ला हो ।’ 
सप्तरी सबै दृष्टिकोणले राम्रो भएको कुरा सबैपक्षले संदेश प्रवाह गर्दै जिल्लाको विकासमा जुट्नुपर्ने उनको जोड थियो । 
उनले सेवाग्राहीहरु पनि न्यायलयबाट प्राप्त फैसलालाई सम्मान गर्दै निर्विवाद स्वीकार गर्ने न्यायीक संस्कार भएको पाएको बताए । 
उनले पत्रकार र न्यायाधीशको समन्वय र एकअर्काको सहयोगले  नै पीडितले न्याय पाउने विश्वास गर्दै आफ्नो सप्तरी बसाईको क्रममा प्राप्त सफलतामा पत्रकारहरुको महत्त्वपूर्ण भुमीका रहेको भन्दै धन्यवाद व्यक्त गरे । 
सप्तरीमा बदलाको भावना लिएर साना मुद्दालाई ठूलो बनाउने, कुनै मुद्दालाई प्रभावित पारी न्याय सम्पादनमा समेत समस्या आउने देखिएको भन्दै उनले घटनाको सत्यतथ्य कुरालाई  पत्रकारहरुले बाहिर ल्याउँदा निर्देष फस्ने खतरा न्यूनीकरण हुने बताए । 
उच्च अदालतकी न्यायाधीश सरला कुमारी पाण्डेले सप्तरीमा मुद्दाको प्रकृति फरक पाइएको र सानातिना कुरालाई मुद्दा बनाउने पाएकोले यसलाई सप्तरीबासीमा अदालतप्रतिको अपार विश्वासको रुपमा लिएको बताइन् ।
राजविराज पठाउँदा कुनै कारबाही गरिएको भन्ने सोच विकसित भएको गलत भाष्य बनेको भन्दै उनले सप्तरी शान्ति र सरल रुपमा काम गर्नुपाउने जिल्लाको रुपमा पाएको बताइन् । 
प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार वैद्यनाथा झाले जस्तो दृष्टी उस्तै सृष्टि हुने भएको भन्दै वरिष्ठतम् न्यायाधीश ज्ञवालीले पत्रकारमाथि राखेको सद्भाव अविस्मरणीय भएको बताए ।  उनले न्यायाधीश ज्ञवाली नेतृत्वको न्यायाधीशहरुले सप्तरी जिल्लाको परिचय बदलि दिएको भन्दै खुशी व्यक्त गरे । 
उक्त अवसरमा  न्यायीक परिषद सदस्य समेत रहेका  वरिष्ठ पत्रकार झाले न्यायाधीश ज्ञवालीलाई उच्च प्रशंसाका साथ कलम -डायरी उपहार दिएका थिए  भने  नेपाल पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष सुधा देवले खदा ओढाएर सम्मान गरेकी थिइन् ।