• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपन्देहीको उपनिर्वाचन पछि सरकारलाई दिएको समर्थनमा पुर्नविचार गर्छौ : ठाकुर

रुपन्देहीको उपनिर्वाचन पछि सरकारलाई दिएको समर्थनमा पुर्नविचार गर्छौ : ठाकुर
नर्मदेव यादव
राजविराज,१७ भदौ ।  
लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले रुपन्देही उपनिर्वाचन पछि संघीय सरकारलाई दिएको समर्थनमा पुर्नविचार गर्ने बताएका छन् । राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी ओली एकलौटी अगाडि बढेकाले सरकारबाट फिर्ता हुने निष्कर्षमा पार्टी पुगेको उनले बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीमा बहुमतको दम्भ देखिएकोले साना सहयात्री पार्टीहरुलाई महत्त्व दिनु छोडेकाले सरकारमा बस्ने औचित्यता सकिएको बताए । उनले उपनिर्वाचपछि पार्टी सरकारबाट बाहिरीने तथा समर्थनमा पुर्नविचार गरिने उल्लेख गरे । 
संघीय सरकारले मधेस र मधेसी जनतामाथि दमनको नीति लिएको आरोप लगाउँदै उनले मधेस विरोधी कुनैपनि गतिविधि स्वीकार्य नहुने जिकिर गरे ।
अध्यक्ष ठाकुरले पार्टी नेता एवम् प्रदेश सभा सदस्य अभिराम शर्मासहितका नेताकार्यकर्तामाथि झुठा मुद्दा लगाएर जन्मकैदको सजाय न्यायोचित नभएको भन्दै आक्रोश पोखे ।  उनले झुठा मुद्दा फिर्ता नगरे सरकारको अहंकार, भेदभाव र एकतन्त्रीय शासन विरुद्ध सशक्त आन्दोलनमा उत्रिएने चेतावनी दिए । 
मधेसका किसान खडेरीको मारमा परेको भन्दै सिंचाइ र खानेपानीको चरम संकट हुँदा समेत प्रधानमन्त्री ओली मुखदर्शक रहेको उनले आरोप लगाए ।
पहिचान,प्रतिनिधित्व र अधिकार प्राप्तिका  लागि शान्तिपूर्ण आन्दोलनमा जुटेका मधेसी नेताकार्यकर्तामाथि झुठा मुद्दा लगाउने षड्यन्त्र विरुद्ध एक जुट हुनुको विकल्प नरहेको भन्दै यसका लागी संघीय लोकतान्त्रिक मधेसी मोर्चा अगाडि बढिसकेको बताए । 
उनले मुद्दा लगाएर मधेसी नेताकार्यकर्तालाई हतोत्साहित, कम्जोर बनाउने प्रधानमन्त्री ओलीको योजना रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीको सर्वसत्तावादी सोच र अहंकारले संघीय शासन व्यवस्थामाथि नै खतरा देखिएको टिप्पणी गर्दै उनले मधेस विद्रोह तथा विभिन्न पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा थप अधिकार सुनिश्चितताको लागि पहिचान पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए । 
मधेसी भएकै कारण झुठा मुद्दा लगाउनु मधेसी माथीको ठूलो अपमान भएको उल्लेख गर्दै उनले अनुहार हेरेर दुई खाले व्यवहार गरी कानूनी राज्यको खिलाप गर्दा यसले देश द्वन्द्व तर्फ जाने निश्चित भएको बताए । 
मानवाधिकार आयोग र सरकारले गठन गरेको विभिन्न छानवीन समितिको प्रतिबेदन सार्वजनिक गर्न माग गर्दै यसबाट सबै सत्यतथ्य बाहिरीने उनको भनाई थियो ।