जनता समाजवादी पार्टी नेपालका केन्द्रीय प्रवक्ता एवम् मधेस प्रदेशसभा सदस्य मनिष सुमनले मधेस मरुभूमि हुँदा जसपा नेपालका नेताकार्यकर्ताको घरको ट्युबवेलको मात्र पानी नसुकी तमाम मधेसबासीलाई यसको प्रभाव पर्ने बताएका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा सप्तरीको राजविराजमा सोमबार आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता सुमनले मधेस मरुभूमि हुँदा एमाले र काँग्रेसको घरको ट्युबवेलमा समेत पानी सुक्के बताएका हुन् ।
जसपा नेपाल सप्तरीद्वारा सदरमुकाम राजविराजमा गरेको विरोध प्रदर्शन । फोटो : न्यूज टुडे
कोणसभालाई सम्बोधन गर्दै नेता सुमनले मधेसलाई मरुभूमिकरण गर्ने भूमि सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गर्न मधेसी साँसदहरुले समर्थन गरेको भन्दै आक्रोश व्यक्त गरे। सप्तरीबाट निर्वचित जनमत, काँग्रेस, जसपाका साँसदले विधेयकलाई समर्थन गर्नु मधेसी जनतामाथिको घात भएको बताउँदै उनले भूमि सम्बन्धि विधेयक राष्ट्रियसभाबाट पारित हुन नदिने जिकिर गरे ।
मधेस र मधेसी विरोधी भूमि विधेयकलाई समर्थन गर्ने जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा साँसद नबलकिशोर सुडी, काँग्रेस साँसद दिनेश कुमार यादव र तेजुलाल चौधरीको नामै लिएर मधेस विरोधीको संज्ञा दिदै उनले यस्ता ओलीका दलालहरुलाई २०८४ मा जनताले नाङ्गोझार बनाउने बताए ।
वनविनाश हुँदा जसपा नेपालको नेताकार्यकर्तालाई मात्र विपद सामना गर्नु नपर्ने भन्दै नेता सुमनले प्रश्न गर्दै भने, ‘मधेस मरुभूमि हुँदा काँग्रेस, एमालेको नेताको ट्युबवेल पानी सुक्दैन” कि प्राकृतिकले उनीहरुलाई छुट दिन्छ ?
विरोधसभालाई सम्बोधन गर्दै नेता दिनेश कुमार यादव । फोटो : न्यूज टुडे
उनले पार्टीले भूमि सम्बन्धि विधेयक विचौलिया र चुरे विनाश गर्ने भु-माफियाको डिजाइनमा ल्याएको र यथास्थितिमा समर्थन जनाउन नसक्ने भनेपछि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई निसाना बनाइएको आरोप लगाए । उनले राजनीतिक प्रतिशोध साध्न कतै संलग्न नभएको अध्यक्षको नाम मुछेर गौरघटनामा छानबिन गर्ने परमादेश प्रधानमन्त्री केपी ओलीकै योजनामा आएको जिकिर गरे ।
गौरघटनालाई लिएर अध्यक्षलाई समात्ने दुस्साहस गरे मधेस र देश ठप्प पार्ने चेतावनी दिदै नेता सुमनले यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी बर्तमान सरकारले लिनुपर्ने बताए ।
पार्टीका केन्द्रीय सदस्य विकास कुमार तिवारीले गृहबन्धु जगा घोटालालाई ढाकछोप गर्न तथा प्रधानमन्त्री केपी ओलीलाई उन्मुक्ति दिन भूमि सम्बन्धि विधेयक ल्याएको आरोप लगाए । भूमाफिया, जग्गा दलाल र तस्करलाई फाईदा पुग्ने राष्ट्रघाती विधेयकको विपक्षमा उभिदा पार्टी अध्यक्षमाथि षड्यन्त्र सुरुभएको भन्दै उनले यसका लागि कडा प्रतिकार गर्नुपर्नेमा जोड दिए ।
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षता आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पुनम यादव, रमिला देवी साह, केन्द्रीय सल्लाहकार समिति सदस्य सुमन चौधरी, मधेस प्रदेशका मुख्यसचिब दिनेश कुमार यादव, प्रदेश सदस्य किशोर कुमार यादव केसीले भुमि विधेयक अगाडि बढाएको भन्दै आक्रोश पोखे ।
यसैगरी जसपा नेपालका जिल्ला सदस्य राजकिशोर खंग, राजविराज नगरपालिका अध्यक्ष अरुण कुमार यादव, नेता नवनित झा, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदारप्रसाद यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष श्याम कुमार यादव लगायतले सम्बोधन गरे ।
उनीहरुले भूमि सम्बन्धि विधेयक खारेज गर्नुपर्ने तथा गौर घटनामा उपेन्द्र यादवमाथि छानबिन गर्ने परमादेश फिर्ता गर्न माग गरे । बक्ताहरुले भूमि विधेयक अगाडि बढाए र गौर घटनामा उपेन्द्र यादवलाई फँसाउन षड्यन्त्र गरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए।
तराई मधेसलाई मरुभूमि बनाउने तथा राष्ट्रहीत विपरीत रहेको भूमि विधेयकमा पार्टीले विरोध जनाएको निहुँमा सरकारको इसारामा पार्टी अध्यक्षमाथि छानबिन गर्ने परमादेश जारी भएकोले स्वीकार नहुने उनीहरुको भनाइ थियो । सरकारले देशलाई द्वन्दतर्फ ढकेलेको उल्लेख गर्दै उनीहरुले चौथो मधेस विद्रोह सुरु भइसकेको भन्दै आन्दोलनको तयारीमा जुट्न सम्पुर्ण नेताकार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रम संचालन जसपा नेपाल सप्तरीका उपाध्यक्ष लक्ष्मण यादवले गरेका थिए ।
य्स अघि राजरंगशालाबाट जिल्ला अध्यक्ष केदार यादवको नेतृत्वमा निकालिएको विशाल र्याली नगरको विभिन्न भाग परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।