• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भूमि विधेयक विरुद्धको आन्दोलन रोकिदैन  : उपेन्द्र

भूमि विधेयक विरुद्धको आन्दोलन रोकिदैन  : उपेन्द्र
न्यूज टुडे
राजबिराज,१५ भदौ । 
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धि विधेयक विरुद्धको आन्दोलन नरोकिने बताएका छन् ।  सरकारले मधेशलाई मरुभूमि बनाउने उद्देश्यसहित भूमि विधेयक ल्याएको आरोप लगाउँदै उनले फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । 
अध्यक्ष यादवलाईमाला लगाएर स्वागत गर्दै जसपा नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
सप्तरीको राजबिराजमा आइतबार आयोजित जसपा नेपाल नगर समिति राजबिराजको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै यादवले भुमि विधेयक फिर्ता लिन आग्रह गरे ।  उनले चुरे क्षेत्रको विनाशका कारण मधेशमा भूमिगत पानीको सतह घट्दै गएको अवस्थामा सरकारले ल्याएको भूमि विधेयकले थप चुरे विनाश भई मधेश मरुभूमिमा परिणत हुने निश्चित रहेको बताए ।
अध्यक्ष यादवले मुलुकको विकासको लागि सरकारले सही बाटो लिनुपर्नेमा उल्टो बाटो समातेको आरोप लगाए । विचौलिया भूमि माफियाको इशारामा आएको भूमि विधेयकले मधेशलाई मरुभूमि मात्र नभई उपनिवेशीकृत बनाउने खतरा रहेको भन्दै उनले जसपा नेपालले सुरु गरेको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।
उनले ३५ वर्षको प्रजातान्त्रिक यात्रामा मुलुकले प्रगति गर्नुको सट्टा अधोगति भोग्नुपरेको उल्लेख गर्दै कांग्रेस र एमालेलाई दोषी ठहराए। “यस अवधिमा उद्योगधन्दा ध्वस्त भए, शिक्षाको गुणस्तर खस्कियो, मुलुक ऋणमा डुब्यो र अहिले  भ्रष्टाचारको लिस्टमै पर्न पुग्यो,” यादवले भने ।
गरिबी, भ्रष्टाचार र वेथितिले चरम सीमा नाघेको भन्दै अध्यक्ष यादवले त्यसको अन्त्यका लागि जसपाले नयाँ आन्दोलनको शुरुवात गरेको बताए । साथै, मधेशको भावना विपरीत ल्याइएको अपूर्ण संविधानलाई पूर्णता दिन संघर्ष जारी रहेको पनि दोहोर्‍याए ।
उनले वर्तमान सरकारले संविधानकै विरुद्ध भूमि विधेयक ल्याएको दाबी गर्दै यसले मधेशमा मधेशीलाई अल्पमतमा पार्ने महेन्द्रपथको निरन्तरता दिएको आरोप लगाए।
कार्यक्रममा जसपा नेपालका महासचिव मनिष सुमनले भूमि विधेयक अघि बढाइए वा गौर घटनामा अध्यक्ष यादवलाई फसाउने षड्यन्त्र भए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
नगर अधिबेशनका अध्यक्ष मण्डलका संयोजक एवम् जसपा नेपालका जिल्ला अध्यक्ष  केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित शपथग्रहण कार्यक्रममा नव निर्वाचित नगर समितिका अध्यक्ष अरुण  कुमार यादवसहित पदाधिकारी र कार्यसमितिका सदस्यलाई जिल्ला निर्वाचन अधिकृत धनेश्वर यादवले शपथ गराए ।
अध्यक्ष मण्डलद्वारा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य तथा मधेश प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, प्रदेशसभा सदस्य किरण साह, डा. बबी यादव, राजबिराज नगरपालिका उपप्रमुख इसरत परविन, प्रदेश कार्यक्कारिणी सद! दिनेश कुमार यादव, जिल्ला उपसचिव रामेश्वर यादव, प्रेस मञ्चका केन्द्रीय सदस्य चन्दनकुमार यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए।  अध्यक्ष मण्डलका सदस्य राजेश्वर रायद्वारा सञ्चालित कार्यक्रममा स्वागत अध्यक्ष मण्डलका सदस्य हरेराम यादवले गरे  ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष उपेन्द्र यादवले माला र अबिर लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अनुशासन विभाग अध्यक्ष जगदेव यादव, केन्द्रीय सदस्यहरु भिमराज यादव, अमरनाथ मण्डल,नेत्र विक्रम साह, रमिला देवी साह, पुनम यादव, उपमा देव, मधेस प्रदेश लेखा समिति संयोजक अमृत साफी, प्रदेश सदस्य कौशेन्द्र यादव, विनोद यादव, पूर्व सदस्य भिम बहादुर तामाङ, जिल्ला उपाध्यक्ष लक्ष्मण यादव, हरेराम यादव, सचिब निरज मुक्ति,  कोषाध्यक्ष अरविन्द कुमार यादव, पूर्व उपसचिव शम्भु कुमार यादव, निलेश कुमार झा, पूर्व कोषाध्यक्ष बृजमान तामाङलगायतका नेताहरुको उपस्थिति थियो ।