सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित तोपा बजारमा शुक्रबार भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवमाथि लगाइएको झुठामुद्दा फिर्ता गर्न माग गर्दै झाडु जुलुस प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति सप्तरीद्वारा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानविन गर्ने षड्यन्त्रको विरोध गर्दै झाडु जुलुस प्रदर्शन तथा कोणसभा आयोजना गरेको हो ।
भूमि विधेयक आगो लगाएर जलाउँदै जसपा नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा निकालिएको विरोध र्यालीमा ‘भूमि विधेयक खारेज गर, मधेसी पाहडीलाई बिभाजन गर्न पाइदैन, सम्पूर्ण पहिचानवादी एक हऔं, मधेसी, आदिवासी, थारू एकता जिन्दावाद,नक्कली राष्ट्रवाद मुर्दावाद, ओली सरकार मुर्दावाद, परमादेश धोका हो, राजनीतिक मुद्दा खारेज गर” ओपनिवेशिक शासन अन्त गर“ उपेन्द्र यादव जिन्दावाद लगायतका सरकार विरुद्ध चर्को नाराबाजी गर्दै तोपा बजार परिक्रमा पश्चात् कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले भुमि विधेयक खारेज गर्नुपर्ने तथा उपेन्द्र यादवमाथि छानबिन गर्ने परमादेश फिर्ता गर्न जोडदार माग गरे ।उनीहरुले भूमि विधेयक अगाडि बढाए र गौर घटनामा उपेन्द्र यादवलाई फँसाउन षड्यन्त्र गरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए।
बक्ताहरुले तराई मधेसलाई मरुभूमि बनाउने तथा राष्ट्रहीत विपरीत रहेको भूमि विधेयकमा पार्टीले विरोध जनाएको निहुँमा सरकारको इसारामा पार्टी अध्यक्षमाथि छानबिन गर्ने परमादेश जारी भएकोले स्वीकार नहुने बताए ।
सरकारले देशलाई द्वन्दतर्फ ढकेलेको उल्लेख गर्दै उनीहरुले चौथो मधेस विद्रोह सुरु भइसकेको भन्दै आन्दोलनको तयारीमा जुट्न सम्पुर्ण नेताकार्यकर्तालाई आग्रह गरे ।
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कोणसभालाई जसपा नेपालीका केन्द्रीय सदस्य विकास कुमार तिवारी, शैलेन्द्रमोहन झा, पुनम यादव डा. बबिसिंह यादव, रमिलादेवी साह, मुरली प्रसाद सिंह, प्रदेश कार्यकारिणी समिति सदस्य युसुफ अलि,लेखा समिति संयोजक अमृत साँफी, प्रदेश सदस्य कौशेन्द्र यादव, जिल्ला सचिब निरज मुक्ति, कोषाध्यक्ष अरमेन्द्र कुमार यादव (अर्विन) ले सम्बोधन गरे ।
यसैगरी जसपा नेपालका जिल्ला सत्यनारायण मुखिया , राजविराज नगरपालिका अध्यक्ष अरुण कुमार यादव, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष रमेश मुखिया, महदेवा गाउँपालिकी सरस्वती मण्डल लगायतले सम्बोधन गरे ।
कार्यक्रम संचालन जसपा नेपालका स्थानीय यूवा नेता उपेन्द्र यादवले गरेका थिए ।
कार्यक्रममा जसपा नेताकार्यकर्ताले भूमि विधेयक राष्ट्रघाती भएको भन्दै आगो लगाएर जलाएका थिए ।
जसपा नेपालले पहिलो चरणको आन्दोलन अन्तर्गत सप्तरीको ४ वटै क्षेत्र तथा सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम तय गरेको छ । कार्यक्रम अन्तर्गत सप्तरी १,२ र ४ क्षेत्रमा विरोध कार्यक्रम सम्पन्न गरिसकिएको तथा शनिबार सप्तरी क्षेत्र नम्बर ३ डाक्नेश्वरी नगरपालिकाको पथलगडामा र १६ गते राजविराजमा बृहत विरोध प्रदर्शन तथा कोणसभा आयोजना गरिने जसपा नेपाल सप्तरीले जनाएको छ ।