• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बोदेबर्साइनमा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानविन गर्ने षड्यन्त्र विरुद्ध प्रदर्शन

बोदेबर्साइनमा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानविन गर्ने षड्यन्त्र विरुद्ध प्रदर्शन
न्यूज टुडे
राजविराज,१२ भदौ । 
सप्तरीको बोदेबर्साईन नगरपालिकामा बिहीवार भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवमाथि छानविन गर्ने षड्यन्त्र विरुद्ध बृहत प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कमिटी सप्तरीद्वारा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानविन गर्ने षड्यन्त्रको विरोध गर्दै प्रदर्शन तथा कोणसभा आयोजना गरेको हो । 
जिल्ला अध्यक्ष  केदार प्रसाद यादवको नेतृत्वमा  निकालिएको विरोध  र्‍यालीमा “लाल आयोगको प्रतिवेदन सार्वजनिक गर”, “राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर”, “खिलराज रेग्मी आयोगको प्रतिवेदन सार्वजनिक गर”, “राजनीतिक मुद्दा खारेज गर” ओपनिवेशिक शासन अन्त गर“ थारु मधेशी एक होऔ“ जस्ता  सरकार विरुद्ध चर्को नाराबाजी गर्दै नगरको विभिन्न भाग परिक्रमा पश्चात् कोण सभामा परिणत भएको थियो ।
 कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले भूमि विधेयक अगाडि बढाए र गौर घटनामा उपेन्द्र यादवलाई फँसाउन षड्यन्त्र गरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए। 
बक्ताहरुले तराई मधेसलाई मरुभूमि बनाउने तथा राष्ट्रहीत विपरीत रहेको भूमि विधेयकमा पार्टीले विरोध जनाएको निहुँमा  सरकारको इसारामा पार्टी अध्यक्षमाथि छानबिन गर्ने परमादेश जारी भएकोले स्वीकार नहुने बताए ।
सरकारले देशलाई द्वन्दतर्फ ढकेलेको उल्लेख गर्दै उनीहरुले चौथो मधेस विद्रोह सुरु भइसकेको भन्दै आन्दोलनको तयारीमा जुट्न सम्पुर्ण नेताकार्यकर्तालाई आग्रह गरे । 
कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष केदार प्रसाद यादव ।फोटो : न्यूज ट्य्डे
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कोणसभालाई जसपा नेपालीकी केन्द्रीय सदस्य डा. बबिसिंह यादव, रमिलादेवी साह, प्रदेश लेखा समिति संयोजक अमृत साँफी, विनोद यादव,  जिल्ला सचिब निरज मुक्ति, पूर्व कोषाध्यक्ष बृजमान तामाङ, खडक नगरपालिकाका पूर्व मेयर हेमायू हकले सम्बोधन गरे । 
यसैगरी जसपा नेपालका जिल्ला सदस्य सुनित कुमार यादव, बोदेबर्साईन नगरपालिका अध्यक्ष  अमरेन्द्र प्रसाद  यादव,सुरुङ्गा नगरपालिका अध्यक्ष दिनेश कुमार यादव, बलानविहुल गाउँपालिका अध्यक्ष उमेश कुमार यादव लगायतले सम्बोधन गरे । 
कार्यक्रम संचालन जसपा नेपाल खडक नगरपालिका अध्यक्ष मो. इसराइल मियाँले गरेका थिए । 
जसपा नेपालले पहिलो चरणको आन्दोलन अन्तर्गत सप्तरीको ४ वटै क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम तय गरेको छ । जस अनुसार बुधबार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ स्थित भारदहमा कार्यक्रम सम्पन्न गरिसकेका छन् भने शुक्रबार सप्तरी क्षेत्र नम्बर २ को तोपा बजार र शनिबार डाक्नेश्वरी नगरपालिकाको पथलगडामा बृहत विरोध प्रदर्शन तथा कोणसभा आयोजना गरिने जसपा नेपाल सप्तरीले जनाएको छ ।