न्यूज टुडे
राजविराज, १० भदौ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले तीज पर्वले नारीहरूको आध्यात्मिक शक्ति, पारिवारिक सौहार्द र सामाजिक एकतालाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । हरितालिका तीज पर्वको पावन अवसरमा मंगलबार शुभकामना संदेश जारी गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहले तीजलाई अटल सौभाग्यको कामना सहित मनाइने, नारीहरूको आस्था, श्रद्धा र समर्पणको प्रतीकका रूपमा स्थापित पर्व भएको उल्लेख गरेका छन्।
‘भगवान् महादेव र माता पार्वतीको स्मरणमा व्रत, पूजा र भक्ति गर्ने परम्परा रहेको यस पर्वले नारीहरूको आध्यात्मिक शक्ति, पारिवारिक सौहार्द र सामाजिक एकतालाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउँदै आएको उनले शुभकामना संदेशमा उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा मुख्यमन्त्री सिंहले महिलाहरूको अधिकार, सम्मान र सशक्तिकरणको पक्षमा सबैको प्रतिबद्धता झन् प्रगाढ बनाउन यो पर्वले अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरेका गरेका छन् ।
यस पावन पर्वले हामी सबैमा नयाँ उमङ्ग, आशा, समृद्धि र आपसी एकताको भावना भर्न सकोस् भन्दै मुख्यमन्त्री सिंहले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी मुख्यमन्त्री सिंहले चौरचन पर्व र गणेश चतुर्थी पर्वको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले चौरचन पर्वलाई भक्तिभाव र संस्कृतिको गहिरो सम्बन्धसँगै सांस्कृतिक पहिचानको रूपमा चित्रण गर्दै यस पर्वले एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयतामा बाँध्ने माध्यमका रूपमा कार्य गरेको उल्लेख गरेका छन् ।
गणेश चतुर्थी पर्वले विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जागृत गर्दै जीवनमा आउने चुनौतीहरूलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जा द्वारा पार गर्न प्रेरणा दिने विश्वास मुख्यमन्त्री सिंहले गरेका छन् ।
“यो तीनै पर्वले दिएको शान्ति, सद्भाव, श्रद्धा र समर्पणको सन्देश हाम्रो समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन सधैं मार्गदर्शक हुनेछन्,” मुख्यमन्त्री सिंहले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
सन्देशमा उनले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दिर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने मंगलकामना पनि व्यक्त गरेका छन् ।