न्यूज टुडे
राजविराज,०२ साउन।
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका लालु प्रसाद यादवको मृत्यु प्रकरणमा प्रहरी बाहेकको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । माग सम्बोधन नभए भदौ ५ गतेदेखि आन्दोलनको चेतावनी सहित संघर्ष समितिले सोमबार प्रजिअ भोला दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रहरी बाहेकको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न जोडदार माग गरिएको छ ।
अनुसन्धानका लागि गठन गरिएको एसएसपी स्तरको समिति मान्य नहुने भन्दै समितिले गृहमन्त्रालय वा मधेश प्रदेश मन्त्रालयको सहसचिवको नेतृत्वको सर्वपक्षीय छानबिन समिति बनाउनुपर्ने माग संघर्ष समितकोले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
अवैध मदिरा नियन्त्रण गर्न गएका प्रहरीले जानिजानी खुबलाल जगरनाथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लालु यादवलाई गोली हानेको संघर्ष समितिका संयोजक दिपेन्द्र प्रसाद यादवले आरोप लगाए ।
घटनापछि उनका आफन्त संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, प्रमुख राजनीतिक दलका प्रतिनिधि र संघर्ष समितिबीच उच्च स्तरीय समिति गठन गर्ने सहमति भएको थियो।
उक्त सहमतिअनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएपछि गठित प्रहरी संगठनकै एसएसपी स्तरको छानबिन समितिले निष्पक्ष छानविन नगर्ने उनीहरूको आरोप छ ।
संयोजक यादव भन्छन् :’प्रहरीकै नेतृत्वमा समिति गठन गरिएको छ भने षड्यन्त्र मात्र हो, यस्तो समितिलाई न संघर्ष समिति, न राजगढवासी, न सप्तरीबासीले मान्यता दिनेछन्’
संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।
आन्दोलनबाट उत्पन्न हुनसक्ने क्षतिको जिम्मेवारी नेपाल सरकार र प्रमुख जिल्ला अधिकारी स्वयं हुने चेतावनी ज्ञापनपत्रमा दिइएको छ ।