नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार सौरभ यादवमाथि छुरा प्रहार गर्नेलाई हालसम्म पक्राउ नगरेको भन्दै आपत्ति जनाएको छ । महासंघ केन्द्रीय समितिद्वारा शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जघन्य अपराध गर्नेलाई पक्राउ गर्न नसक्नु स्थानीय प्रशासनको कमजोरी रहेको भन्दै गम्भीर आपत्ति जनाएको हो ।
केन्द्रीय महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सप्तरीका पत्रकार सौरभ यादवको हत्या गर्ने कुत्सियत मनसायले छुरा प्रहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नयाँ पत्रीका दैनिकका संवाददाता यादवमाथि साउन ३० गते राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको मुलगेट नजिकै मोटरसाइकलमा आएका केही व्यक्तिले छुरा प्रहार गरेको महासंघ मधेस प्रदेश समितिले जनाएको छ’ विज्ञप्तिमा भनिएको छ,’ शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको हाल अस्पतालमा उपचार भइरहेको छ । महासंघ यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’
पत्रकार यादवमाथि भएको आक्रमणको घोर निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरि कारबाही गर्न महासंघले जोडदार माग गरेको छ ।
” पत्रकारमाथिको यी जघन्य अपराधको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ । साथै, छुरा प्रहार गर्नेलाई हालसम्म पक्राउ नगर्नु स्थानीय प्रशासनको कमजोरी हो ।’ विज्ञप्तिमा भनिएको छ,’ अत: महासंघ दोषीलाई तत्काल पक्राउ गरि कडा कारबाही गर्न जोडदार माग गर्दछ ।’
‘पत्रकार र पत्रकारिताको सुरक्षा गरि स्वतन्त्रता एवम् निर्भरताका साथ पेशामा लाग्ने बाताबरण निर्माण गर्न पनि महासंघ सम्बद्ध निकायहरुसंग आग्रह गर्दछ।’ महासंघ केन्द्रीय समितिद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
यसअघि नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले पत्रकार यादवमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश सचिव हदीस खुद्दारले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणकारीलाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन् । यसैगरी जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सूचना तथा संचार विज्ञान तथा प्रविधि विभाग सचिब महेश चौरसियाले पत्रकार यादवमाथि भएको घटनाको भर्त्सना गर्दै दोषी उपर कडा कारबाहीको माग गरेको छ ।
पत्रकार यादवमाथि भएको घटना प्रति प्रेस मञ्च नेपाल सप्तरी, नेपाल पत्रकार महासंघ शाखा सप्तरीले घटनाप्रति आपत्ति जनाउँदै आक्रमणमा संलग्नहरुलाई अविलम्ब पक्राउ गरि कारबाही नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
पीडित पत्रकार सौरभ यादव ।फोटो : न्यूज टुडे
यसैगरी पूर्वमन्त्री उमेश कुमार यादव, आमसंचार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, प्रेस मञ्च नेपालका केन्द्रीय उपमहासचिव वैद्यनाथ यादव, नेपाल पत्रकार महासंघका आबद्ध पदाधिकारी र पूर्व पदाधिकारी, विभिन्न संघसंस्था तथा व्यक्तिद्वारा सामाजिक संजालमा घटनाको घोर भर्त्सना गर्दै जनताको सुरक्षामा स्थानीय प्रहरी, प्रशासन पूर्ण रुपमा असफल भएको टिप्पणी गर्दै गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले पत्रकार यादवमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कारबाही गर्न जोडदार माग गरेका छन् ।
पत्रकार यादवलाई सप्तरी सदरमुकाम राजविराज स्थित व्यस्त सडकमा तीन जनाको समुहले धारिलो हतियारसहित आक्रमण गरेका थिए । घटनामा संलग्न तीनैजना तत्कालै फरार भएका थिए । ती मध्ये राजविराज नगरपालिका ११ का बर्ष ३२ को राजु यादवलाई साँझ ४ बजे पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अन्य घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।