कर्तव्य ज्यान मुद्दामा लामो समय कैदभुक्तान गरि कैदमुक्त भएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ का बच्चेलाल ( विएल ) सरदारले राजनीतिमै फर्कने उद्घोष गरेका छन् । नौ बर्ष सात महिना कष्टकर जेल जीवन काटेर २०८२ साउन ९ गते जेलमुक्त भएका सरदारले शुक्रबार न्यूज टुडेसंग कुराकानी गर्दै बाँकी जीवन राजनीतिमै समर्पण गर्ने उद्घोष गरेका हुन् ।
बच्च्रेलाल सरदार ( विएल ) । फोटो : न्यूज टुडे
तत्कालीन नेकपा माओवादी ( विप्लव ) को सप्तरी जिल्ला सह इन्चार्ज तथा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य सरदार पार्टीद्वारा एमसीसी विरुद्धको नेपाल बन्द कार्यक्रममा प्रदर्शनको क्रममा पक्राउ परेका थिए । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित इटहर्वाबजार कलौनी सितापुरमा विरोध प्रदर्शनको क्रममा सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
माओवादी केन्द्रबाट विद्रोह गरेर नेकपा (विप्लव) समुहलाई समर्थन गरेको निहुँमा राजनीति प्रतिशोध साध्न माओवादी नेताहरुले झुठो मुद्दा लगाएर फाँसाएको सरदारले न्यूज टुडेलाई बताए ।
‘माओवादी मै बसेको भए म जेल जानुपर्ने थिएन, एमसीसीको विरुद्धमा क. विप्लवले विद्रोह गरेपछि उहाको विचार संग सहमति जनाएर नेकपा माओवादी ( (विप्लव ) मा सक्रिय भएँ’, उनले भने, ‘मलाई फँसाउने केही नेता स्वर्गवास भइसके अन्य अहिले पनि गाउँघरमै छ । राजनीति प्रतिशोध साध्न झुठो मुद्दामा बर्षौ जेल भुक्तान गरि आएको छु, पुनः राजनीतिमै पर्किने सोच बनाएको छु ।’
एमएड गरेर राजनीतिमा सक्रिय हुदै गरेका सरदार ३५ बर्षको उमेरमा जेल परेपछि राजविराज कारागार भित्रबाट विएल गर्ने सोच राखी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा नाम दर्ता गरेको उनले बताए । एमएडको थेसिस जेलभित्रबाटै गरेको जानकारी दिदै उनले २०७८ सालमा राजविराजमा विएलको प्रथम परिक्षा ( विएल फस्ट इयर )मा सहभागी भएको बताए ।
विएलको दोश्रो परिक्षा ( विएल सेकेन्ड इयर ) को परिक्षा दिने बेला सर्लाहीको मलंगवा कारागार सरुवा भएपछि परिक्षाबाट बन्चित भएको उनले बताए । मलंगवाबाट सिरहा कारागार सरुवा भएपछि विएल तेस्रो बर्षको ( विएल थर्डइयर)को परिक्षा दिएको बताउदै उनले विएल सेकेन्ड इयरको परिक्षा लाहनमा २०८२ साउन ७ गते देखी सहभागी भएको जानकारी दिए ।
मलंगवा, सिरहा र राजविराज कारागारमा कैदभुक्तान गरि कैदमुक्त हुनुभन्दा पहिले २०८१ फागुन २७ गते फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन २०७४ को दफा २९ बमोजिम ( ६६ प्रतिशात कैद भुक्तान गर्ने कैदी बन्दीले पाउने सुविधा) प्यारोलमा छुटेको बताउँदै उनले २०८२ साउन ९ गते अदालतबाट कैदमुक्त भएको पत्र पाएको जानकारी दिए ।
जेल जीवन पछि ४४ बसन्त पार गरीसकेका सरदारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय हुने बताए । उनले पार्टीको काम गर्दागर्दै राजनीतिक प्रतिशोधले जेल बस्नुपरेकोले पार्टीले मुल्यांकन गरि जिम्मेवारी दिने विश्वास व्यक्त गरे ।
सरदार माओवादी जनयुद्ध देखि माओवादी निकट विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए ।