उत्तम आचार्य
कन्चनरुप , २५ साउन ।
नेवा समाज कन्चनरुप नगर कमिटीले परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा कन्चनरुपको टोलटोलमा मौलिक साँस्कृतिक लाखे झाँकी प्रदर्शन गरेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आइतबार कन्चनरुपका नेवार समुदायले विभिन्न स्थानबाट सांस्कृतिक लाखे नाँचसहितको झाँकी निकालेको हो ।
बालबालिकालाई पन्चकन्याको रुपमा सिंगारेर र गाईको फोटो बनाइ सिँगारेर सांस्कृतिक झाँकी निकालिएको छ भने केहीले आफ्नो दिगंवत भएका पितृहरुलो पुत्ला बनाइ सिँगारेर झाँकी प्रदर्शन गरेका थिए । कन्चनरुपको वडा नम्बर १२ स्थित श्रावणपुर , बस्तिपुर , सितापुर , चर्खिया ,प्रगतिटोल , सुन्दरी टोल , रुपनगर चोक रुगालि टोल र धाता हटियामा परम्परागत लाखे झाँकी प्रदर्शन गरिएको थियो ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । यसरी निस्किएका सांस्कृतिक झाँकीसहितको गाईजात्रा हेर्ने दर्शकको पनि सडकका दायाँबायाँ घुइँचो लागेको थियो ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
त्यसै अनुरुप कन्चनरुप १२ का मित्रनारायण श्रेष्ठको परिवार , दिर्घनारायण श्रेष्ठको परिवार र रामबहादुर श्रेष्ठको परिवारले आफ्नो एक बर्ष भित्र स्वर्घारोहण भएका आफ्ना पितृहरुको पुत्ला बनाइ पुजाआजा गरि पितृ प्रसाद खुवाइ झाँकी परिक्रमा गरि सकेपछि पौडाहा खोलामा लगि पुत्लालाई सेलाइ धुपबत्ति गरि घरमा आइ झाँकीमा सहभागी भएका सबैलाई अन्न ग्रहण गराएका थिए ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाउने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्दछ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
गाइजात्रा पर्व उल्लेख्य नेवार समुदाय र अन्य जातजातिको सहभागितामा सप्तरी जिल्लामै पहिलो पटक भएको नेवा समाजका अध्यक्ष कौशल श्रेष्ठले बताए ।