सप्तरीको राजविराज नगरपालिका १ पडरियामा शुक्रबार भाइले बञ्चरो प्रहार गरी दाजुको हत्या गरेको छ। स्थानीय ४० वर्षीय लोकेन्द्र झालाई आफ्नै भाइले हत्या गरेको हो ।
भाइले बन्चरो प्रहार गरी मृत्यु भएका झा । फोटो : न्यूज टुडे
लोकेन्द्रका ३० वर्षीय भाइ नरेन्द्र झाले शुक्रबार बिहान करिब १० बजे घरमै बञ्चरो प्रहार गरेर घाइते बनाएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।
गम्भीर घाइते लोकेन्द्रलाई राजविराजमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । उनको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको डिएसपी बस्नेतले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण घटना भएको देखिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए । बञ्चरो प्रहार गर्ने नरेन्द्र हाल फरार रहेकोले खोजी कार्य भइरहेको उनले बताए ।