व्यासशंकर उपाध्याय
काठमाण्डौं,१८ साउन ।
संघीय लोकतान्त्रिक मोर्चाले आईतबार राजधानीबाट जनजागरण अभियानको पहिलो कार्यक्रमको थालनी गरेको छ । अमृत भोग पार्टी प्यालेस कालिका स्थानमा आयोजित एक समारोहका वीच अभियान सुरु गरेको हो ।
वर्तमान राजनीतिक अवस्था बारेको जनजागरण कार्यक्रममा उक्त मोर्चा तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनतामा उत्पन्न आक्रोशले कुनै पनि समयमा विष्फोटको रुप लिने भन्दै शासक वर्गले समयमा नसोचे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने कुरा बताएका छन् । मधेशमा आन्दोलन चलिरहेको कुरा प्रति बेवास्ता गर्दै शक्तिको वलमा घोषणा गरिएको संबिधानले सबै जनतालाई सन्तुष्ट तुल्याउन नसकेको जिकिरका साथ उनले अव पनि जनताको असन्तुष्टीप्रति नसोचे कुनै पनि समयमा विष्फोट हुन सक्ने चेतावनी दिए ।
मोर्चाका नेता तथा जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले उर्बर भूमि,जलस्रोतको दोस्रो धनी,पर्यटनको पर्याप्त सम्भावना बोकेको तथा विदेशमा समेत निर्माणका काम गर्ने जाँगरिला जनशक्ति रहँदा पनि विश्वकै निर्धन मुलुक बनेको नेपालका बारेमा विदेशीले पनि जिज्ञासा राख्ने गरेको भन्दै राज्यका सबै अंगमा सबै नेपालीको सहभागिता सुनिश्चित नभएसम्म मुलुकमा विकासको गति नआउने ठोकुवा गरे । उनले एकै नश्लको मात्र शासनमा प्रभुत्व रहेको तथा अरुको भाषा,संस्कृति तथा पहिचानलाई नै नष्ट तुल्याउने काम भएकाले यही कारणले मुलुकले गति लिन नसकेको जिकिर गरे ।
नेता यादवले वर्तमान संबिधानमा अनेक त्रुटी रहेको बताउँदै यसलाई पुनर्लेखनबाट पनि सच्याउन गाह्रो रहेको बताए । सबै जनताको भावनालाई समेट्ने गरी संबिधान नबन्ने हो भने त्यसलाई जनताले रद्दीको टोकरीमा फाल्न पनि समय नलाग्ने उनको दावी थियो ।
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा मोर्चाका नेता राजेन्द्र महतोले सत्तरी वर्षमा सातवटा संबिधान बनेर पनि जनतामा निराशा नै रहेको भन्दै सबै जनता अटाउने खालको संबिधान बनाउन नसकिएका कारणले नै जनअसन्तुष्टी बढेको दावी गरे । उनले मुलुकमा सबै जनताको सहभागिता र अवसरको ग्यारेण्टी हुने खालको व्यवस्था नरहे त्यसमा जनताले आफ्नो अनुहार नदेख्ने र यसबाट असन्तुष्टीको बिजारोपण हुने बताए ।
सोही पार्टीका राजनीतिक समिति सदस्य सुमन सायमीले उत्पीडनमा परेका सबै क्षेत्रका जनताको साझा मोर्चा निर्माणको आवश्यकता महशुस भईरहेको अवस्थामा संघीय लोकतान्त्रिक मोर्चाको भूमिका प्रभावकारी रहने दावी गरे ।
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले अहिले ल्याउन थालेको भूमिसम्बन्धि विधेयक पास भए तराई मधेशमा मरुभूमिको खतरा अझै बढेर जाने बताए । उनले संघीयतालाई शासक वर्गले कुरुप बनाउने काम गरिरहेको आरोपका साथ अधिकार विनाको संघीयताले समस्याको निकास कदापि ननिस्कने दावी गरे ।
मोर्चाका अर्का नेता तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले चुरे तटमा जंगल फाँडेर बसाईएको बस्तीका कारण चुरेको विनाश भएको भन्दै चुरे संरक्षण नभए मधेशमा मरुभूमिकरणको खतरा बढेर जाने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले गरेका थिए ।