न्यूज टुडे
राजविराज,२६ असार।
मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन् । राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा धनुषाको लालगढ़मा बिहीवार आयोजित प्रदेश स्तरीय श्रोत परिचालन समिति तथा प्रदेश सवन्मय समितिको संयुक्त बैठक उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले मौसमको प्रतिकुलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढने खतरा रहेको बताउँदै चुरे संरक्षणमा तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताए । उनले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको उल्लेख गरे।
चुरेको मरुभुमीकरण रोक्न र नदीको संरचनाहरुको सुरक्षाका लागि नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री सिंहले वातावरणमैत्री उत्खननवाट प्राप्त नदीजन्य पदार्थको निर्यात मार्फत आम्दानी समेत वृद्धि गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औल्याए ।
प्रदेश सरकार संरचनामा आएपछि आर्थिक वर्ष २०८१ – ८२ मा सवभन्दा बढी ७१ दसमलव ४८ प्रतिसत वजेट खर्च भएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री सिंहले यो उपलब्धीका लागि प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैको योगदान रहेको उल्लेख गरे ।