न्यूज टुडे
राजविराज, २४ असार ।
सप्तरीका नवागंतुक प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले पहुँचको आधारमा कसैको मुख ताकेर सेवा दिने कार्य आफ्नो कार्यकालमा नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रहरी कार्यालयमा शक्ति र पहुँचको आधारमा मुद्दा दर्ता हुने गरेको पत्रकारहरुको प्रश्नमा एसपी केसीले प्रहरी कार्यालयमा सेवा लिन आउने सबैजनालाई एक समान व्यवहार गरिने बताए ।
‘प्रहरीले मुख हेरेर मुद्दा दर्ता गर्ने भन्ने कुरै हैन’ एसपी केसीले भने,’ यसमा संकोच मान्नु पर्दैन, मेरो कार्यकालमा मुख ताकेर सेवा दिने भन्ने कार्य हुँदैन ।’
उनले जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रण गरि सुशासन कायम राख्ने दायित्व प्रहरीको पनि भएकोले यसमा कमी आउन नदिने विश्वास व्यक्त गरे । गैरकानुनी कार्य नियन्त्रण तथा सुरक्षित र सभ्य समाज निर्माणमा पत्रकारहरुको भुमिका अपरिहार्य हुने बताउदै उनले यसका लागि पत्रकारहरुलाई सहयोग गर्न आग्रह गरे ।
सुन्दर शान्त र सुशासित राष्ट्र निर्माणमा सबैपक्ष मिलेर अगाडि बढ्नुपर्ने उनको जोड थियो ।
पत्रकारहरुबाट सकारात्मक सल्लाह सुझाव आएको बताउँदै उनले पत्रकारहरुलाई सम्मान, सूचना, सुरक्षा दिने कार्यमा अभाव आउन नदिने प्रतिबद्धता व्यक्त गरे । एसपी केसीले यस पूर्वका कार्यालय प्रमुख जस्तै पत्रकारसंग राम्रो सम्बन्ध बनाउन प्रयत्नशील रहने बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले यसअघिको घटनाक्रमलाई स्मरण गराउँदै प्रहरी विरुद्ध सडकमा आउने स्थिती सिर्जना नहोस् भन्दै सचेत गराए । पत्रकारहरुसंग जोडिएका घटनालाई सहकार्य र समन्वय गरी निरुपण गर्ने यसअघिका परम्परा कायम राख्नुपर्ने उल्लेख गर्दै उनले पत्रकाररिता आचारसंहिता विपरीतका कार्य गर्ने पत्रकार र युट्यूवरहरुको गतिविधि नियन्त्रणमा लागुपर्नेमा जोड दिदै यसमा महासंघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले यसअघिका एसपी ढकेन्द्र खतिवडा संचारमैत्री रहेको भन्दै त्यो भन्दा राम्रो काम गर्न सुझाव दिए ।
कार्यक्रममा पत्रकार अम्बिका दाहाल, आरएन विश्वास, सुधा देव, बृजमान तामाङ, विनयलाल कर्ण,कृष्णा कुमार मण्डल, चन्दन कुमार यादव, रुपेश यादव, प्रवेश मिश्र, रामशंकर भण्डारी लगायतकाले जिल्लाको शान्ति सुरक्षाको अवस्था, ट्राफिक व्यवस्थापन, सिमा क्ष्रेत्रमा हुने प्रतिबन्धित लागूऔषध तस्करी तथा अबैध तस्करी नियन्त्रण, प्रहरीले दिदै आएको सूचनालाई थप व्यवस्थित बनाउनु पर्ने सुझाव दिएका थिए ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएपछि एसपी केसीले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । एसपी केसी प्रहरी प्रधान कार्यालय काठमाण्डौ अपराध अनुसन्धान यूएन शाखाबाट सरुवा भइ ११ दिन अगाडि सप्तरी आएका थिए ।