मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन समिति सप्तरीको प्रथम अधिबेशनको उद्घाटनसभा सम्पन्न भएको छ । समितिको जिल्ला अध्यक्ष मो. तैयव अलिको अध्यक्षता तथा मिटरब्याज किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाको प्रमुख आतिथ्यमा राजविराजमा आइतबार आयोजित एक समारोहका वीच उद्घाटनसभा सम्पन्न भएको हो ।
अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष कुशवाहाले देशमा मिटरब्याजी समस्या जटिल अपराध हो भन्ने कुरा राज्यले अहिलेसम्म तीनवटा आयोग बनाएर प्रमाणित गरेसकेको बताए ।
राज्यले पटकपटक झुक्याएर आन्दोलन कम्जोर गर्ने षड्यन्त्र गरिरहेकोप्रति आक्रोश व्यक्त गर्दै उनले जति धोखा दिएपनि एक दिन राज्यसंग न्याय लिएर छोड्ने उद्घोष गरे ।
उनले अधिकार सुनिश्चितताको लागि देशभरीका पिडितहरु एकभएर आन्दोलनमा होमिनु पर्नेमा जोड दिए । अन्याय विरुद्धको संघर्षलाई जारी राख्दै एकदिन राज्यलाई घुँडा टेकाएरै छाड्ने उनले दावी गरे ।
कार्यक्रममा शिवचन्द्र यादव,झवर साह, पुर्व सल्लाहकार ,राधेश्याम राम ,रामकुमार चौधरी,दिलिप यादव,प्रथम लाल राम,अमर यादव मिथिला कमाण्ड्र सदस्य मिथिला कमाण्डर इन्चार्ज मोहन महतो लगायतले मन्तव्य व्यक्त गरे ।
बिजय चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत लखन चौधरीले गरेका थिए ।
यसअघि मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन समिति सप्तरीले विभिन्न नारा उल्लेख प्लेकाकार्डसहित राजविराजमा विशाल र्याली प्रदर्शन गरेका थिए ।
राजबिराज स्थित कल्टुदास पोखरी नजिक रहेको समितिको कार्यलयबाट सुरु भएको र्यालीले सिडिओ कार्यलय- अदालतरोड – गजेन्द्र चौक – दशनचौक हुँदै जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा प्रवेश गरेको थियो ।
मिटरब्याज पीडितलाई न्याय देउ,मिटरब्याज साहुलाई कारबाही गर,किसानको भुमी फिर्ता गर,अदालतको एकतर्फी फैसला मान्दैनौ,अदालतको न्याय किन बेच बन्द गर,सुदखोर साहुको सम्पत्ति छानवीन गर,कानूनी राज्य कायम गर, लघुवित्त संस्था खारेज गर,किसानको भुमि फिर्ता गर’लगायतका नारा लगाउदै र्याली प्रदर्शन गरेका थिए ।
यसैगरी प्लेकार्डसहित र्यालीमा सहभागीहरुले ‘जाली तमसुक खारेज गर,अनुचित ॠण मिनहा गर,वित्तीय पीडितलाई न्याय देउ,हाम्रो आन्दोलन जारी छ, प्रथम जिल्ला अधिवेशन सफल पारौ,सुदखोरहरु होसियार ,सुदखोरलाई सहयोग हर्ने प्रहरी प्रसासन मुर्दावाद’लगायतको नारा लगाएको थियो ।
उद्घाटनपछि जारी बन्दसत्रबाट जिल्ला समितिको नयाँ नेतृत्व र आगामी नीति तथा कार्यक्रम पारित गर्ने आयोजक समितिले जनाएको छ ।