न्यूज टुडे
राजविराज,०७ असार ।
नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोलेले समान अस्तित्व, पहिचान र प्रतिनिधित्वका लागि जुन हतियारले तामाङलाई सिध्यायो त्यही हतियार उठाएर अगाडि बढ्न तामाङ समुदायलाई आग्रह गरेका छन् । सर्लाहीको हरिवनमा शनिबार आयोजित नेपाल तामाङ घेदुङ मधेस प्रदेशको दोश्रो अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय अध्यक्ष गोलेले राजनीति र राज्यको नीतिको कारणले तामाङ समुदायको दुर्दशा भएको बताए । उनले तामाङ समुदायको राजनीतिक र नीति निर्माण तहसम्म प्रतिनिधित्व र पहुँच नहुँदा तामाङ समुदायले कठोर पीडा र यातनासहेर जीवनयापन गर्नुपरेको बताए।
पहिचान प्रतिनिधित्व र अधिकार प्राप्तिका लागि तामाङ समुदाय राजनीतिमा जोडिनुपर्नेमा जोड दिदै उनले जुन हतियारले सिध्यायो त्यही हतियार उठाएर अगाडि बढ्न आग्रह गरे ।

उनले राज्यको आसमानता, अन्याय, भेदभाव अत्याचार विरुद्ध तामाङ समुदायले बिद्रोह गर्नुको विकल्प नरहेको जिकिर गरे ।
“तामाङले छिटै उपद्रो गर्ने दिन आएको छ’उनले भने, ‘सबैजना राजनीतिमा अगाडि बढ्नुस, हामीलाई राजनीति र राज्यको नीतिको कारणले यस्तो दुर्दशामा पुर्याएको छ।’
उनले अधिबेशनले नीति नेतृत्व र शक्ति प्रदर्शन गर्ने भएकोले मधेस प्रदेश यसमा अगाडि रहेको भन्दै प्रशंसा व्यक्त गरे ।

३५ बर्षीय अनुभव मसंग छ, तामाङ समुदायमा भाषा, धर्म संस्कृति, राजनीतिक उत्पीडन दुखदायी पाएँ’, मञ्चमै भाबुक हुदै उनले भने ‘भूगोल अधिग्रहण गरि बर्बरता पुर्ण रुपमा यातना दिएका छन् । तामाङ मन्त्री र कर्मचारी पटकपटक राज्यको शिकार बनेका छन्, सबैभन्दा बाढी दुखदायी जातीय समुदाय भनेको तामाङ हो ।’
प्रतिनिधिसभा सदस्य हरि उप्रेतीले देशलाई अत्यन्तै माया गर्ने जाति, राष्ट्रवादी, उद्वार भावना, अरुको खुसीमा रमाउने, राष्ट्रको लागि बलिदानी दिन तयार हुने समुदाय तामाङ समुदाय भएको बताए । उनले आफू सकिंदा समेत उद्वारता राख्दा आफुलाई दुख लाग्ने गरेको बताए ।
उप्रेतीले राष्ट्रलाई माया गर्नेहरु अर्थिक ,राजनीतिक तथा साँस्कृतिक रुपमा कम्जोर हुनुहुदैन भन्दै विभेद, अन्याय आसमानता विरुद्ध एकताबद्ध भएर लड्नुपर्नेमा जोड दिए । सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि देशको नेतृत्व तामाङसहितका आदिवासी समुदायले गर्नु अपरिहार्य रहेको बताए ।
नेपाल तामाङ घेदुङ मधेस प्रदेश समिति अध्यक्ष यमलाल गोलेको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा संघीय उपाध्यक्ष धर्म डुम्जन तामाङ, प्रदेशसभा सदस्य जवहारलाल कुसवाहा, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घ्लान तामाङ, सेघीय सदस्य जयमान पाख्रीन, नेता सुरेन्द्र तामाङ, नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध तामाङ, हरिवन नगर अध्यक्ष तारा घ्लानलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्थानीय युवा रोहित तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष संजिव मोक्तान तामाङले गरे ।
उक्त अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा नियुक्त भएकी सोनी कुमारी बम्जन र सरिता घिसिङ, नेपाल तामाङ घेदुङ सर्लाहीका निवर्तमान अध्यक्ष हिराकाजी योन्जनलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
अधिबेशनले आगामी ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने र नीति तथा कार्यक्रम पास गर्ने नेपाल तामाङ घेदुङ मधेस प्रदेश समितिले जनाएको छ ।