• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कर्मचारीको आन्दोलनले राजविराज नगरपालिकाको कामकाज ठप्प

कर्मचारीको आन्दोलनले राजविराज नगरपालिकाको कामकाज ठप्प
न्यूज टुडे
राजविराज, ०६ असार । 
कर्मचारीहरुमाथी कुटपिट, गालीगलौज, दुर्व्यवहार गर्नेमाथि कारवाहीका साथै कार्यालयमा कामकाज गर्न सुरक्षित वातावरणको माग सार्दै राजबिराज नगरपालिकाका कर्मचारीहरुले थालेको आन्दोलनका कारण एकहप्तादेखि नगरपालिकाका सम्पूर्ण कामकाज प्रभावित भएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका ईकाइ समितिको नेतृत्वमा गत शुक्रबार देखि जारी पेन डाउनसहितको आन्दोलनले नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो । 
 माग सम्बोधन नभएसम्म काममा नफर्किने अडान राखी नगरपालिका अगाडि सुरु गरेको धर्ना कार्यक्रमलाई कर्मचारीहरुले शुक्रबार आठौं दिन पनि  निरन्तरता दिएका हुन् ।
कर्मचारी आन्दोलनमा उत्रिएपछि नगरपालिकाको कामकाज पूर्ण रुपले ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, काम गर्ने सहज वातावरण बनाउन एवम् भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गर्दै पेन डाउन गर्दै राजविराज नगरपालिका अगाडि कर्मचारीहरु धर्ना बसेका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका ईकाइ समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन तथा काम गर्ने सहज वातावरण बनाउन एवम् भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने बताइन् ।
नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दासले कर्मचारीहरु अझै पनि असुरक्षित रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी नहुन्जेल काम नफर्किने बताए । उनले आफूमाथी संघातिक हमला गरी २ तोलाको सुनको सिक्री समेत लुटपाट गरेको बताए ।
‘उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएका छौं निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्थामा छैंनौं” उनले भने,ू सुरक्षाको प्रत्याभूति तथा क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म काममा फर्किदैनौ।’
उनले जनताको कामकाजमा आफू बाधक नभएको भन्दै दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने अडान राखे।
जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा भई रहेको आन्दोलनको क्रममा राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरुलाई पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरिएको उनीहरूको आरोप छ।
सोही विवादलाई लिएर जनप्रतिनिधि वीच एकअर्का विरुद्ध प्रहरीमा उजुरी दिने क्रम बढेको छ । सार्वजनिक सम्पत्ति तोडफोड, कर्मचारीमाथी कुटपिट तथा लुटपाट गर्नेमाथि कानूनी कारबाही र कर्मचारीको लुटिएको गहना तथा नगरपालिकाको पूर्वाधारको भौतिक  सम्पत्तिको क्षतिपूर्ति, घाइते कर्मचारीलाई उपचार खर्चको माग गर्दै कार्यबाहक नगर प्रमुख इसरत परविनले जाहेरी दिएका छन् भने वडा नम्बर ९ का वडा अध्यक्ष जबाहार यादवले कार्यबाहक मेयर विरुद्ध ज्यानमार्ने उधोग सम्बन्धि जाहेरी प्रहरीलाई बुझाएका छन् ।