• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अलपत्र सडक निर्माणको माग  सार्दै प्रजिअलाई ज्ञापनपत्र 

अलपत्र सडक निर्माणको माग  सार्दै प्रजिअलाई ज्ञापनपत्र 
न्यूज टुडे
राजविराज, ०४ असार । 
सप्तरीको पूर्वी भेगमा पर्ने भारदह–मिलन चौक (डाहा)–पकरी अलपत्र सडक खण्ड निर्माणको माग गर्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । लामो समयदेखि  सडक निर्माण कार्य अलपत्र छाडिंदा आवतजावत  समस्या परेको भन्दै  स्थानीयवासीले  बुधबार  प्रमुख जिल्ला अधिकारी भोला दाहललाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेता विकाश कुमार तिवारीको नेतृत्व तिलेश्वर मण्डल , मनोज कुमार यादव, रामदेव यादव, राजकिशोर साह, सुर्यनरायण साह लगायतका स्थानीयबासीले प्रजिअ दाहाललाई ज्ञापनपत्र बुझाउँदै अधुरो सडक निर्माणमा पहल गरिदिन आग्रह गरे । 
ज्ञापनपत्र बुझ्दै प्रजिअ दाहालले स्थानीयले राखेको माग जायज रहेको भन्दै सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 
राजविराज–कञ्चनपुर हुलाकी सडकसँग जोडिने यो सडक राजविराज हुँदै मधेश प्रदेशका लागि महत्त्वपूर्ण आवागमन मार्ग हो। तर, वर्षौंदेखि निर्माण कार्य अलपत्र छाडिँदा बर्षायाममा सडक पूर्णरूपमा बन्द हुने अवस्था आउने गरेको स्थानीयको गुनासो छ।
सडक निर्माणको ठेक्का “एम/एस शाह/दिवा जेभी, सातदोबाटे ललितपुर” नामक कम्पनीले पाएको र सम्झौताअनुसार २०७९ सालमै निर्माण कार्य सकिनुपर्ने भए पनि अहिलेसम्म पनि काम सम्पन्न नहुँदा जनजिवन प्रभावित भएको नेता तिवारीले बताए ।
ज्ञापनपत्रमा राजविराज–कञ्चनपुर हुलाकी सडक खण्ड अन्तर्गत कृष्णासवरण गाउँपालिका–४;को बलौनीस्थित खोलामा पुल निर्माण कार्य पनि अधुरो अवस्थामा रहेकाले सो खण्डमा समेत सवारी आवागमनमा समस्या भएको उल्लेख गरिएको छ।
पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता भएपछि राजविराजका पत्रकार, समाजसेवी र स्थानीय अगुवाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्य सम्पन्न गर्न माग  गरिएको स्थानीय तिलेश्वर मण्डलले बताए । 
ज्ञापनपत्रमा शान्तिपूर्ण दवावबाट समस्या समाधान नगरे सडक संघर्ष  सहितको सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।