• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजका निलम्बित मेयर यादवविरुद्ध प्रहरीमा जाहेरी

राजविराजका निलम्बित मेयर यादवविरुद्ध प्रहरीमा जाहेरी
न्यूज टुडे
राजविराज, ०३ असार ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर  गरेका राजविराज नगरपालिकाका  निलम्बित मेयर भीमराज यादवसहित तोडफोडमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी परेको छ ।  एक साताअघि राजविराज नगरपालिकाकाे कार्यालयमा भएकाे तोडफोडमा संलग्नहरूमाथि कारबाहीको माग गर्दै मंगलबार राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परबिनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार जाहेरी दिँदै निलम्बित मेयर यादवसहित तोडफोडमा संलग्नमाथि कानुनी कारबाहीको माग गरेकी हुन् ।
 वडाध्यक्ष तथा आन्दोलनरत कर्मचारीहरूसँगै पुग्नुभएकी परबिनले जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई जाहेरी  बुझाएको एक जनप्रतिनिधिले बताए ।
राजविराज नगरपालिकाकाे लेटर प्याडमा दिइएकाे निवेदनमा भ्रष्टाचार मुद्दामा निलम्बित नगरप्रमुख यादवसहित योजना शाखाका प्रमुख मनोज यादव, राजविराज–९ का सुधीर यादव, राजविराज–७ निवासी गज्जु भनिने गजेन्द्र यादव लगायत २०–२५ जनालाई विपक्षी बनाइएको छ । विपक्षीहरूले सार्वजनिक सम्पत्ति र भौतिक संरचनामा अनाधिकृत रूपमा क्षति पुर्‍याउँदै आपराधिक गतिविधि गरेको आरोप छ ।
यसैगरी जाहेरीमा लेखा अधिकृत शत्रुधनलाल दासमाथि कुटपिट गरी उनीसँग भएको दुई तोला सुनको सिक्री समेत खोसेको दाबी गरिएको छ । मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ६ अनुसार दोषीहरूलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न माग समेत गरिएको छ ।
यता प्रहरी प्रमुख खतिवडाले नगरपालिकाकाे निवेदन अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको सरुवापछि शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेपछि विवाद चुलिएको थियो । गत जेठ २७ गते नगरपालिकामा यही विवादका कारण तोडफोड भएको थियो ।
उक्त निर्णयसँग असन्तुष्ट निलम्बित नगरप्रमुख भीमराज यादव  नेतृत्वको समुहले जेठ २५ गते नगरपालिकाको कार्यालयमा ताल्चा लगाएका थिए । तर, त्यसको दुई दिनपछि कावा नगरप्रमुख परबिन पक्षले ताल्चा तोडेर भोगेन्द्र यादवलाई हाजिर गराएपछि निलम्बित नगरप्रमुख यादव समर्थकहरूले नगरपालिकामा तोडफोड गरेका थिए ।
अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा हरिकिशोरप्रसाद चन्द्रवंशी पठाएका छन् भने ऊनी सोमबार हाजिर भइसकेका छन् ।
गत स्थानीय तहकाे निर्वाचनमा जसपा नेपालबाट नगरप्रमुखमा यादव र उपप्रमुखमा परबिन निर्वाचित भएका थिए । तर, ठेकेदार पृष्ठभुमिका यादव पुराना एक निर्माण कामकाे भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि परबिन कावा मेयर बकेकी थिइन् । यद्यपि, आपसी सन्तुलन नमिल्दा पटक पटक राजविराज नगरपालिकामा द्वन्द्व हुँदै आएकाे छ । 
यसको प्रभाव कर्मचारीहरुमा पनि परेको छ । कर्मचारीहरु समेत दुइधारमा बाँडिएका छन् भने एकपक्ष कर्मचारीहरुले कुटपिट तथा लुटपाट, र दुर्व्यवहारमा संलग्न निलम्बित मेयर यादवसहित संलग्नमाथि कारबाही तथा लुटिएको गहनाको क्षतिपूर्ति र सुरक्षाको माग सार्दै पेनडाउनसहित नगरपालिका अगाडि धर्ना बसेका छन् । 
अहिले आर्थिक वर्षको अन्तिममा आएर भएकाे याे विवादले नगरकाे विकास निर्माण काम समेत प्रभावित हुन पुगेको छ भने सेवाग्राही मर्का परेका छन् ।