न्यूज टुडे
राजविराज , ०१ असार ।
राजविराज- भारदह सडकखण्ड अन्तर्गत सप्तरीको राजविराज नगरपालिका १५ स्थित देउरी भरवामा शनिबार ट्याक्टरले सिटि रिक्सालाई ठक्कर दिंदा ८ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ७८३ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र १-००१-००२ ह ३४३४ सिटि रिक्सालाई ठक्कर दिंदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका बर्ष ४५ की अनिता देवी मण्डल,बर्ष ४२ की फूलवती देवी मण्डल, बर्ष १० की लक्ष्मी कुमारी मण्डल, बर्ष ३८ को किरण मण्डल, बर्ष ३५ की सोनिया रजक,बर्ष ३८ की विणादेवी रजक, बर्ष ४२ की ललिता देवी मण्डल र सिटी रिक्सा चालक बर्ष ४५ का सुभाचन्द्र मण्डल रहेका छन् ।
घाइते मध्ये अनिताको अवस्था गम्भीर रहेको स्थानीय निरन्जन मण्डलले बताए । उनलाई राजविराज स्थित छिन्नमस्ता अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको उनले जानकारी दिए । अनिताको गम्भीर अवस्थामा धरानमा उपचार भइरहेको उनले जानकारी दिए ।
अन्य घाइतेहरुको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको तथा दुर्घटना ग्रस्त सिटी रिक्सा जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।
ठक्कर दिने ट्याक्टर राजविराज नगरपालिका १५ का महेन्द्र प्रसाद यादवको रहेको तथा ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गाउँकै टिटि रिक्सा भाडामा लिएर हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा अवस्थित कंकालनी मन्दिर दर्शन गरि फर्कने क्रममा उनीहरुलाई ट्याक्टरले ठक्कर दिदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
यसैगरी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव एवम् मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले घाइतेहरुको अबस्था बारे जानकारी लिएका छन् । छिन्नमस्ता अस्पतालमा आइतबार पुगेर पूर्वमन्त्री साहले घाइतेहरुसंग भेटघाट गर्दै स्वास्थ्य अवस्था बारे बुझेका हुन् ।