न्यूज टुडे
राजविराज, २९ जेठ ।
सुनमा लगाइएको विलासिता कर खारेजीकाे माग गर्दै सप्तरीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बिहीवार पत्रकार सम्मेलन गर्दै उनीहरुले सुनमा लगाइएको विलासिता कर खारेजीकाे माग गरेका हुन् ।
सप्तरी सुनचाँदी उधोग व्यवसायी संघ राजविराजको नेतृत्व पत्रकार सम्मेलन गर्दै उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीकाे जोडदार माग गरे ।
सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, १३ प्रतिशत भ्याट खारेज गरि ६ प्रतिशत कायम गर्नुपर्ने,सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग सार्दै देशभरका व्यवसायी व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरुले बताए ।
सुनचाँदी उधोग व्यवसायी संघ सप्तरीको नेतृत्वमा नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै संयुक्त रुपमा आन्दोलनमा उत्रिएको पत्रकार सम्मेलनमा उनीहरुले बताए । व्यवसायीहरुले पत्रकार सम्मेलनमा बोल्दै व्यवसाय बन्द गरेर आफूहरू सडकमा आएको बताए ।
आन्दोलनका कार्यक्रम अनुसार राजविराज सहित जिल्लाका सबै सुनचाँदी पसल बन्द गरिएका छन् । यसअघि सुनचाँदी व्यवसायीको टोलीले हिजो सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार विरोध र्याली प्रदर्शन गरिने व्यवसायीहरुले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै सुनचाँदी व्यवसायीहरुले उपभोक्तालाई मार पार्ने गरी सरकारले सुनमा विलासिता कर लगाएको बताएका छन् । संघका सप्तरी अध्यक्ष नारायण रन्जनले सम्पत्तिको रूपमा जोड्ने सुनमा विलासिता कर लागू हुनु कुनै पनि दृष्टिकोणबाट न्यायचित नभएको बताए ।
सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेको थियो । बजेट मार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा सुनचाँदी व्यवसायीलाई कर लगाइए पनि उक्त कर उपभोक्ताले तिर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको व्यवसायीहरु भनाइ थियो । व्यवसायीहरुले शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।