• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

देशको समृद्धिका लागि समान सहभागीता अपरिहार्य :  दनुवार

देशको समृद्धिका लागि समान सहभागीता अपरिहार्य :  दनुवार
न्यूज टुडे
राजविराज, २८ जेठ । 
दनुवार जागरण समिति नेपालका केन्द्रीय अध्यक्ष राम कुमार सिंह दनुवारले देशको विकास र समृद्धिका लागि सबैजाति समुदायको राज्यको निर्णायक तहमा समान पहुँच र प्रतिनिधित्व अपरिहार्य रहेको बताएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका १ घोघिदाहमा बुधबार दनुवार जागरण समिति सप्तरीको पाँचौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
अधिबेशन उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे

अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दनुवारले सबै जातिसमुदायको निर्णायक तहमा जनसंख्याको आधारमा समान सहभागिता हुनुपर्नेमा जोड दिए । उनले देशको विकास र समृद्धिका लागि राज्यको हरेक निकायमा समान पहुँच र प्रतिनिधित्व अपरिहार्य रहेको बताए । 
असमानता र विभेदका कारण दनुवार समुदाय राज्यको हरेक अवसरबाट बन्चित भएको उल्लेख गर्दै उनले दनुवार समुदायलाई राज्यको मुलधारमा ल्याउन राज्यले विशेष अधिकारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 
उनले देशमा दनुवारसहितका अल्पसंख्यक समुदायका लागि संरक्षित तथा स्वायत्त क्षेत्रसहितको संरचना निर्माण गर्नुपर्ने आवश्यकता औल्याए । उनले अधिकार प्राप्तिका लागि गोलबध्द हुनुको विकल्प नरहेको उल्लेख गर्दै एकतामा बल रहेकोले संगठित हुन आग्रह गरे । 
दनुवार जागरण समिति सप्तरीका अध्यक्ष खेमराज सिंह दनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, दनुवार जागरण समितिका केन्द्रीय सदस्य उदयसिंह दनुवार, मधेस प्रदेश अध्यक्ष प्रदीप सिंह दनुवार, दनुवार जातिका सेवा निबृत्त उपसचिव इन्जिनियर श्यामसुन्दर सिंह दनुवार, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ,आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका दिपक कुमार सिंह दनुवार, स्थानीय बुद्धिजीवी सदानन्द सिंह दनुवार लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
दनुवार जागरण समिति सप्तरीका सचिब उपेश कुमार सिंह दनुवारद्वारा संचालित कार्यक्रममा स्वागत पूर्व केन्द्रीय सदस्य रनु कुमार सिंह दनुवारले गरे । 
अधिबेशन उद्घाटन समारोहमा दनुवार पोशाकमा सजिएकी युवतीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।  अधिबेशनले आगामी तीनबर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने तथा भावी नीति तथा कार्यक्रम पारित गर्ने अधिबेशन व्यवस्थापन समितिका संयोजक सुरेन्द्र सिंह दनुवारले जानकारी दिए ।