न्यूज टुडे
राजविराज, २७ जेठ ।
प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिदा राजविराज नगरपालिकामा मंगलबार दिनभर तनाव सिर्जना भएको छ । कार्यवाहक नगर प्रमुख इससरत परविन र निलम्बित मेयर भिमराज यादव वीच प्रमुख प्रशासकीय अधिकृतको विषयमा मतान्तर हुँदा विवाद चुलिएको हो ।
कार्यबाहक मेयरसहितका जनप्रतिनिधिले नगरपालिकामा निलम्बित मेयर यादव समुहले लगाइएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई हाजिर गराउँदा निलम्बित नगर प्रमुख यादव समर्थकहरूले नगरपालिका अगाडि टायर बालेर प्रदर्शन गरेका थिए। भने दुवै पक्षबिच तनाव हुँदा नगरपालिका कुर्सी,सिसी क्यामरा र झ्यालका सिसाहरू तोडफोड गरेका थिए
निलम्बित नगर प्रमुख यादव सहित उनका समर्थकहरूले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर नगरपालिकामा ताला लगाएर अनशन बसेका छन् । विभिन्न ९ बुदे माग अघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगर प्रमुख परविन सहितका जनप्रतिनिधिहरूले कार्यालय प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई हाजिर गराएपछि आन्दोलनरत समुह थप आक्रोशित भएका थिए ।
आक्रोशित समुहले कार्यबाहक मेयरलाई बाहिरबाट ताला लगाएर केही बेर कार्यालय भित्र थुनेका थिए । कडा सुरक्षाका वीच कार्यबाहक मेयर थुनामुक्त भएपछि सिडिओ कार्यालयमा आयोजित सर्वदलीय सर्वपक्षीय बैठकमा सहभागी हुन पुगेकी थिइन् भने यादव समुह नगरपालिका अगाडि धर्ना बसेका थिए ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सामान्य प्रशासनले सरुवा गर्दै नगरपालिकाका शिक्षा अधिकृत यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । त्यही विषयलाई लिएर कार्यवाहक नगर प्रमुख परविन र निलम्बित नगर प्रमुख यादवबिच विवाद उत्पन्न भएको थियो ।
कार्यवाहक नगर प्रमुख परविन मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्ने पक्षमा र निलम्बित मेयर यादवले सोको विरोध गर्दै डा.साहलाई नै जिम्मेवारीमा राख्नु पर्ने अडान लिएपछि नगरपालिको अवस्था विग्रीएको एक जनप्रतिनिधिले बताए ।
कार्यवाहक नगर प्रमुख परविन र नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडाध्यक्ष जयनाराण मण्डल, वडा नम्बर ७ का वडाध्यक्ष सुभाषचन्द्र यादव सहित जनप्रतिनिधि तथा समर्थकहरूले कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई हाजिर गराउँदा स्थिति असहज बनेका छन् ।
आन्दोलनरत समुहले लेखापालसहित केहि कर्मचारीमाथि हातपात समेत गरेका थिए ।।घाइते कर्मचारीहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेका छन् ।
यसअघिको प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि यादवलाई मन्त्रालयले जिम्मेवारी दिएकोले विकासीय तथा दैनिक कामकाज अगाडि बढाउन यादवलाई हाजरी गराइएको कार्यबाहक मेयर परविनको भनाइ छ ।
यसै विषयलाई लिएर दुबैपक्ष सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसे पनि ताला खोलेर प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउने सन्दर्भमा कुनै ठोस निष्कर्ष ननिस्किदा ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको उनले बताइन् ।
यसअघि निलम्बित नगर प्रमुख यादवसमूहले प्रमुख प्रशासकीय अधिकृत सरुवाप्रति असन्तुष्टि जनाउँदै नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानबिन, विटौरी जग्गामा बसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट बञ्चित परिवारलाई लालपुर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्किने व्यवस्था लगायतका माग अघि सार्दै कार्यालयमा तालाबन्दी गरि रिले अनशन सुरु गरेका थिए ।
तालाबन्दीका कारण नगरपालिकाको सम्पुर्ण कामकाज प्रभावित भएको छ भने सेवाग्राही मर्कामा परेका छन् । तनावले सुरक्षा चुनौती बढेपछि ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।