न्यूज टुडे
राजविराज, २५ जेठ ।
सप्तरीको राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन र निलम्बित मेयर भिमराज यादव वीचको विवाद उत्कर्षमा पुगेको छ । निलम्बित मेयर भिमराज यादवको नेतृत्वमा आइतबार नगरपालिकामा तालाबन्दी तथा रिले अनशन सुरु गरेपछि विवाद बाहिरीएको हो ।
कार्यबाहक मेयर पक्षले सामान्य प्रशासन मन्त्रालयले पठाएका भोगेन्द्र प्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृतमा हाजिर गराउने तथा भिमराज नेतृत्व पक्षले कुनैपनि हालतमा हाजिर हुन नदिने अडान लिएका कारण विवाद सतहमा पुगेको नगरपालिका श्रोतको दावी छ ।
एक जनप्रतिनिधिका अनुसार आइतबार प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर हुने कार्यक्रम थियो । त्यो कुरा थाहा पाएपछि विपक्षमा रहेका भिमराज पक्ष आन्दोलनमा उत्रिएको हो ।
दुईपक्ष वीच विवादले उग्ररुप लिएपछि भिमराज पक्षले नगरपालिकाको बेथितिको बिरूद्व भन्दै पालिकामा तालाबन्दी गर्दै अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता समेत रहेका यादब सहित सयौँ नगरवासीहरूले नाराबाजी गर्दै राजबिराज नगरपालिकामा व्यापक भष्ट्राचार भएको भन्दै तालाबन्दी गरेका छन् ।
यादव पक्ष ९ बुँदे माग राख्दै अनिश्चितकालीन रिले अनशनमा बसेको छन । सिसिटिभी जडानमा अनियमितता, बिटौरी जग्गाको लालपुर्जा बितरण गर्नुपर्ने, लामखुट्टेको औषधी छर्कनु पर्ने, नगर भित्र निर्माणधीन सडकहरू वर्षोदेखि अलपत्र रहेकोले अविलम्व काम सुरु गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
यसैगरी राजबिराज नगरपालिकामा उपसचिव सरहको प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने, नगरपालिकाको सरसफाईलाई ब्यबस्थित गर्नुपर्ने, ट्राफिक ब्यवस्था अब्यबस्थित रहेको तथा नगरप्रहरी भर्ना अविलम्ब गर्नुपर्ने, राजबिराज नगरभित्रको बिजुली बतीको नाममा ६० लाख भुक्तानीको छानबिन गर्नुपर्ने, तरकारी बजार सडकमै भएकोले त्यसको उचित व्यवस्थापन गर्नुपर्ने माँग सहित संघर्षमा उत्रिएको उनीहरूको भनाइ छ ।
यता कार्यबाहक मेयर परविनले बजेटको बार्गेनिङ गर्न निलम्बित मेयर यादवले यस्तो हर्कत गरेको बताइन् । उनले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन र नगरपालिकाको नियमित काम कारबाहीलाई अबरोध गर्ने नियतबस अराजक गतिविधि गरेको आरोप लगाइन् ।
तालाबन्दीका कारण नगरपालिकाको सम्पुर्ण कामकाज पूर्ण रुपले प्रभावित भएको छ ।