मधेस प्रदेश सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयताले सबै समुदायको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् । मधेस प्रदेश चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डद्वारा सप्तरीको कञ्चनरुपमा शनिबार आयोजित पाँच दिने ‘छायांकन तथा सम्पादन तालिम’को उद्घाटन गर्दै मन्त्री लेखीले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता । फोटो : न्यूज टुडे
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखीले संघीयता आएपछि दलित, मुस्लिम, महिला, आदिवासी लगायत सबै समुदायको राज्यको हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित हुनु संघीय व्यवस्थाको ठूलो उपलब्धि भएको बताए ।
तालिममा सहभागीहरु । फोटो : न्यूज टुडे
‘संघीयता आएकै कारण राज्यका हरेक निकायमा हजारौंको संख्यामा सबै वर्ग र समुदायको अनुहार देख्न पाइएका छौं” उनले भने, ‘यसले सहभागिता र प्रतिनिधित्व सुनिश्चित गरेको छ।’
मन्त्री लेखीले गणतन्त्र स्थापनापछि देशमा विकासको गति तीव्र भएको उल्लेख गरे । ‘१०–१५ वर्षअघि पैदल हिड्नु पर्ने र साइकल चल्ने बाटोमा अहिले चार चक्के सवारीसाधन सजिलै गुडिरहेका छन्’ उनले भने ।
अझै पनि सबै वर्ग समुदायले पूर्ण अधिकार प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले त्यसका लागि संघर्ष जारी राख्नुपर्नेमा जोड दिए।
उनले यस्ता तालिमहरू युवालाई सीप सिकाएर गाउँमै स्वरोजगार बनाउने माध्यम भएकोले सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले आफ्नो गाउँघरको कला, संस्कृति र भेषभूषाको संरक्षण आवश्यक रहेको बताए । ‘गृहमन्त्री लेखीको कार्यशैली अनुकरणीय छ’ उनले भने,’उहाँको काम देखेर सबै दङ्ग छन् ।’
कञ्चनरुप नगरपालिकाका उप–प्रमुख मुना पोखरेलले युवाहरूलाई शुभकामना दिँदै आफ्नो संस्कृति जगेर्नाको जिम्मेवारी युवाहरूको काँधमा रहेको बताइन्।
कार्यक्रमको सभापतित्वको आषणबाट बोल्दै चलचित्र प्रवर्द्धन बोर्डका नव नियुक्त अध्यक्ष किशोर कुमार लेखीले चलचित्र तथा लोकसञ्चारको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे। उनले यसलाई सार्थकता दिन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा कञ्चनरुप नगरपालिका वडानम्बर ३ का अध्यक्ष गुल्टेन चौधरी, वडा नम्बर ४ का जोगेन्द्र पासमान, वडा नम्बर ६ का बच्चुलाल चौधरी, वडा नम्बर ७ का समानन्द चौधरी, वडा नम्बर ८ का कृष्णा प्रसाद साह र वडा नम्बर ११ का ललित कुमार गोजेवारलगायतका स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति थियो ।