न्यूज टुडे
राजविराज, २० जेठ ।
आधा जीवन काटिसकेकी सप्तरी अग्नीसाइर कृष्णासव्रन गाउँपालिका वडा नम्बर २ की ४२ बर्षिय फुलपराश चौधरी अझै जन्मदर्ताबाट बन्चित छिन् । बुवा रामनाथ चौधरी र आमा भोलावती थरुनीको कोखबाट दोश्रो सन्तानको रुपमा २०४० बैशाख ५ गते जन्मिएकी उनी जन्मदर्ताबाट बन्चित रहेकी छन् ।
दाजु प्रकाश चौधरीको जन्मदर्ता बनेर पनि नागरिकता समेत बन्दा फुलपराश जन्मदर्ताबाट पनि बन्चित हुनु छोरीप्रति समाजले हेर्ने दृष्टिकोण ऎना जस्तै छर्लङ्ग हुन पुगेको छ । फुलपराशलाई जन्मदर्ताबाट कसैले रोकेको भने होइन तर रुढीबादी चिन्तन, गरिवी, अशिक्षा र अज्ञताकोले उनलाई समस्यामा पारेको यसबाट प्रष्ट बुझिन्छ ।
छोरी विवाह भएर पराइघर गइसकेकी छिन् अहिले आएर नागरिकताको आवश्यकता महसुस भएपछि जन्मदर्ताका लागि वडा कार्यालयमा निवेदन गर्दा सुनुवाइ नगरेको आमा भोलाबती थरुनी बताउँछिन् ।
‘पराइको घर जाने छोरी मान्छेको जन्मदर्ता चाहिदैन भन्ने भयो, नागरिकता पनि घरतिरबाट बन्छ भनेर कुनै चासो वास्त भएन’ थरुनीले भन्छिन्,’अहिले आएर छोरीले जन्मदर्ताका लागि रुनकराउन थालेपछि पो छोराछोरी दुबैको जन्मदर्ता गर्नुपर्छ भने चेत खुल्यो।’
उनले छोरीको जन्मदर्ता प्रमाणपत्रका लागि १ बर्षदेखि पटकपटक वडा कार्यालय धाउँदा रित्तो हात फर्कनु परेको गुनासो गरिन ।
सानो हुँदा नबनाइएको जन्मदर्ता र नागरिकताको काम लाग्दैन भन्ने भएर यस अगाडि बनाउने कोसिस पनि नगरेको तर छोराको नागरिकता बनाउन जाँदा जिल्ला प्रशासन कार्यालय राजविराजमा आमाको पनि नागरिकता अनिवार्य हुनुपर्छ भनेपछि जन्मदर्ताको महत्त्व बुझेको फुलपराश चौधरीले बताइन् । आफू जन्मदर्ता र नागरिकताबाट बन्चित हुँदा छोराको नागरिकता बनाउन सकस भएको उनले बताइन् ।
‘श्रीमान् को नागरिकताले मात्र छोराको नागरिकता बनेको भए मलाई कुनै खाँचो थिएन’ उनले भनिन्, छाकटार्न त अरुकै घरमा बनिबुतो गर्नपर्ने हामी जस्ता गरिवलाई नागरिकता किन चाहियो । तर के गर्ने छोराछोरी नै नागरिकताबाट बन्चित हुनेभएपछी जन्मदर्ता आवश्यक पार्यो ।’
वडा कार्यालयले जन्मदर्ता बनाउन आलटाल गरेको बताउँदै उनले जन्मदर्ता र नागरिकताको लागि पहल गरिदिन सरोकारवालाहरुसंग आग्रह गरिन ।
२०५८ सालमा राजविराज १ पडरियाका किरण चौधरीसंग विवाह बन्धनमा बाँधिएकी उनको २०,१७ र ११ बर्षका तीन भाइ छोरा छन् । छोराहरूको जन्म दर्ता बनाउँदा आफ्नो नागरिकता खोजी नभएपनि अहिले आएर नागरिकता बनाउन सिडिओ कार्यालयले अनिवार्य गरेपछि आफू साह्रै समस्या परेको उनले बताइन् ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का सचिव कुशेश्वर प्रसाद यादवले उमेर धेरै भइसकेकोले यस सम्बन्धमा यथार्थ कुरा बुझेर मात्र फुलपराशको जन्मदर्ता बनाउन मिल्ने बताए । यस बारे कानूनी प्रक्रिया पूरा गरि अगाडि बढ्ने उनले जानकारी दिए ।