• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उपचार खर्च नहुँदा बालक अस्पतालमै बन्धक, राजविराज नगरपालिकामा आफन्तको धर्ना जारी

उपचार खर्च नहुँदा बालक अस्पतालमै बन्धक, राजविराज नगरपालिकामा आफन्तको धर्ना जारी
न्यूज टुडे
राजविराज, १८ जेठ । 
सप्तरीको राजविराज नगरपालिकाको स १ झ ४८१ नम्बरको स्कारपिओले ठक्कर दिई गम्भीर घाईते एक बालकको उपचार खर्च बुझाउन नसक्दा पाँच महिनादेखि अस्पतालमै बन्धक भएका छन् । बालकको परिवारसंग उपचार खर्च बुझाउने क्षमता नहुँदा तथा नगरपालिकाले समेत समयमा उपलब्ध नगराउँदा सप्तरीको बोदेबर्साइन नगरपालिका १ का १६ बर्षिय राजेश कुमार यादव विराटनगरको एक अस्पतालमा बन्धक भएका हुन् । 
उपचार खर्च माग गर्दै  राजविराज नगरपालिकामा मंगलबारदेखि  पीडितका आफन्तले थालेको  अनिश्चितकालीन धर्ना कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिएका छन् भने बालक अस्पतालको बेडमा घर फर्कन नपाउँदा छ्टपटाई रहेका छन् । खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरु राजविराज नगरपालिकाको मुल गेटमा धर्ना बस्दा समेत सुनुवाइ नभएको पीडित परिवारको गुनासो छ ।
बालकका आफन्तहरुको आन्दोलनका कारण राजविराज नगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ । 
घटनाको महिनौं वितिसक्दा समेत नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले बताए । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उनले दुखेसो सुनाए । 
‘उन्नाइस दिन अगाडि नै रु २५ लाख अस्पतालमा बुझाएर छोरालाई लिएर जान भनेको थियो’ बालकका बुवा रघुनाथले भने,’ पैसा तिरेर ल्याउन सक्ने  अवस्था मेरो छैन, नगरपालिकाले आलटाल गर्दा छोरा अस्पतालमै बन्धक छन् ।’
उनले नगरपालिकामा उपचार खर्चका लागि महिनौंसम्म धाउँदा समेत सुनुवाइ नभएपछि धर्ना बस्न बाध्य भएको बताए ।  नगरपालिकाले न्याय नदिए आत्माहत्या गर्नुको अरु विकल्प नरहेको बताउँदै उनले उपचार खर्च बुझाएर छोरालाई घर ल्याउन पहल गरिदिन  संचारकर्मी तथा सरोकारवाला निकायहरुसंग आग्रह गरे । 
कुल २७ लाख खर्च भएकोमा नगरपालिकाले २ लाख मात्र अस्पताललाई बुझाएको बताउंदै उनले छोरालाई घर नफर्काइए राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनको घरमा गएर झुन्डिएर आत्माहत्या गर्ने चेतावनी दिए । 
२०८२ माघ १ गते बोदेबर्साइन नगरपालिका ५ स्थित सडक खण्डमा राजविराज  नगरपालिकाको गाडिको ठक्करबाट  बोदेबर्साईन नगरपालिका १ का राजेशसंगै अर्का २२ बर्षिय अजित कुमार यादव घाइते भएको रजेशका बडाबुवा बैधनाथ यादवले बताए । 
अजितको राजविराज स्थित छिन्नमस्त अस्पतालमा उपचार गरि घर फर्किएपनि विराट नर्सिङ होम विराटनगरमा उपचार खर्च तिर्न नसकेपछि राजेशलाई घर ल्याउन नसकिएको उनले जानकारी दिए । नब्बे दिन आइस्युमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होस आएर हाल अस्पतालले डिस्चार्ज गरिसक्दा समेत पैसा अभावले ल्याउन नसकिएको उनले बताए । 
अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका भतिजाको न्यायका लागि संघर्ष समिति बनाएर क्षतिपूर्तिको लागि दबाब दिन धर्ना बस्न बाध्य भएको उनको भनाइ छ ।