• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा चोरीको सामनसहित अन्सारी पक्राउ

सप्तरीमा चोरीको सामनसहित अन्सारी पक्राउ
न्यूज टुडे
राजविराज, ०९ जेठ ।  
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डको कोठाबाट चोरी भएको सामानसहित बिहीबार एक जना पक्राउ परेको छ । खडक नगपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारी  चोरी भएको समानसहित  पक्राउ परेको हो ।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डकै कोठाबाट राति चोरी भएको थियो । सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका–७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र सोही ठाउँ वडा नम्बर–५ का ४४ वर्षीय पर्शुराम चौधरीको कोठामा चोरी भएको प्रहरीलाई जानकारी भएपछि खोजतलासको क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दुवैजना कोठामै सुतिरहेको बेला दराजबाट १२ बोरको एकनाले हतियार, सोमा लाग्ने २० राउन्ड गोली, दुई थान मोबाइल, डिजिटल तराजुसहितका सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका  अनुसार चोरी भएको घटनाबारे बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कल्याणपुरमा जानकारी आउँदा अनुसन्धान थालिएको थियो ।
अनुसन्धानकै क्रममा बिहान पौने ४ बजेतिर सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट चोरीका समानसहित एक जना युवकलाई पक्राउ गरिएको  प्रहरीले बताए  । 
‘चोरी भएको सूचना पाएसँगै सप्तरीका सबै युनिटका साथै सिराहालाई पनि जानकारी गराएका थियौँ, शंका लागेर चेकजाँच गर्दा जिल्लाको खडक नगपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारीको साथबाट चोरीको समान बरामद भएको छ’ सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले भने ।
इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको अन्सारीको साथ ल्यापटप, कम्प्युटर स्क्यानर, खुकुरी र घडी दुई/दुई थान, १२ बोरको एकनाले हतियारमा लाग्ने कार्टिज २० राउन्ड, मोबाइल ५ थान, सिमकार्ड, स्पिकर र डिजिटल तराजु एक/एक थान बरामद भएको  उनले जानकारी दिए । 
पक्राउ परेका अन्सारीले कल्याणपुरस्थित बैंकको ५ सय मिटर पश्चिम घारीमा लुकाएर राखेको १२ बोरको एकनाले हतियार पनि बरामद भएको एसपी खतिवडाले बताए । अन्सारीलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा ल्याएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।