न्यूज टुडे
राजविराज, ०८ जेठ ।
सप्तरीमा ८२ बर्ष अगाडि भएको हनुमानमगर जेल क्रान्ति नेपाल-भारत दुबै देशका लागि अनुकरणीय रहेको एक कार्यक्रमका सहभागी बक्ताहरुले बताएका छन् । नेपाल भारत जनमैत्री एकता मञ्च सप्तरी नेपालद्वारा राजविराज स्थित बालाजी होटलमा बिहिवार आयोजित ‘हनुमाननगर जेल ब्रेक : नेपाल – भारत जनसम्बन्ध एकता कार्यक्रममा सहभागी बक्ताहरुले यस्तो बताएका हुन् ।

मञ्चका संयोजक एवम् पूर्व सिंचाइमन्त्री उमेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्वाचन आयोगका पूर्व आयुक्त डा. अयोधी प्रसाद यादवले हनुमाननगर जेल क्रान्ति नेपाल-भारत दुबै देशको लागि अनुकरणीय रहेको बताए । ब्रीटिस विरुद्धको भारती स्वतन्त्रता संग्राम तथा निरंकुश राणा शासन विरुद्ध जनविद्रोहको एतिहासीक थालनी हनुमाननगर जेल क्रान्तिबाट सुरु भएको इतिहास बारे चर्चा गर्दै डा. यादवले नेपाल-भारत दुबैदेशको राजनीतिक परिबर्तनको लडाइमा हनुमाननगर जेल क्रान्तिले मार्गदर्शन गरिरहेको बताए ।

भारती स्वतन्त्रता संग्रामका नाइके समाजवादी नेता जयप्रकाश नारायण र डा.राम मनोहर लोहियासहित ७ जनाले हनुमाननगर जेलबाट क्रान्ति गरि जेलमुक्त भई ब्रीटिस शासन विरुद्धको आन्दोलनको नेतृत्व गरि भारतलाई स्वतन्त्र बनाएको तथा त्यसै क्रान्तिको उपज नेपालमा निरंकुश राणा शासन अन्त्य भएको इतिहास भुल्नु हुदैन’ डा. यादवले भने,’इतिहासकारले सप्तरीका आनन्दी सिंह र मगलसिंहले कुर निरंकुश राण शासन विरुद्ध चालेको कदम र हनुमाननगर जेल क्रान्तिमा गरेको योगदानलाई महत्त्व नदिदा सप्तरीको इतिहाँस ओझेलमा परेको छ ।’


उनले हनुमाननगर जेल क्रान्तिले नेपाल-भारत वीचको सम्बन्धलाई सुमधुर बनाएको बताउँदै दुईदेश वीचको रोटिबेटीं, धार्मिक साँस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन यस्ता इतिहासलाई जीबन्त राख्नुपर्नेमा जोड दिए ।
दुइदेशीय सम्बन्धलाई कायम राख्न यस्ता संघसंस्था गठन हुन्छ,हुनु राम्रो हो भन्दै उनले सप्तरीबासीले देशका लागि पुर्याएको योगदानलाई स्मरणका लागि सप्तरीको इतिहास लेख्न जरुरी रहेको बताए ।
सभापतिको आशनबाट बोल्दै पूर्वमन्त्री यादवले हनुमाननगर जेल क्रान्तिको बास्ताविक इतिहासलाई उजागर गर्दै जगेर्ना गर्न यसका अवशेषहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । ब्रीटिस साम्राज्यवाद, नश्लवाद, निरंकुश शासन विरुद्ध कठोर संघर्ष गर्दै समाजवादको पक्षमा हनुमाननगर जेल क्रान्ति गर्ने दुबै देशको वीर योद्धाको स्मरण गर्न नितान्त आबश्यक ठानेर कार्यक्रम आयोजना गरेको उनले बताए ।
हनुमाननगरमा संग्रहालय निर्माण, जेल क्रान्तिको इतिहास दुबैदेशको पाठ्यक्रममा लागू गर्नुपर्ने लगायतका सहभागीको सुझावलाई कार्यान्वयनको दिशामा लग्न नेतृत्वदायी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले यसमा सबै पक्षको सकारात्मक साथ सहयोगका लागि आग्रह गरे ।
इतिहासकार डा. पिताम्बर लाल यादवले हनुमाननगर जेल क्रान्तिमा सप्तरीबासी नेताहरुले खेलेको भुमिका बारे चर्चा गरे । सप्तरीका नेता आनन्दी र मंगल सिंह लगायतका योजनामा विक्रम सम्वत २००० साल जेठ ८ गते ( २२ मई) मा भारतीय समाजवादी नेता डा. लोहिया, जयप्रकाश नारायणसहित ७ जना जेलमुक्त भएको इतिहास सुनाउदै उनले त्यसपछि ब्रीटिस विरुद्ध नेतृत्व गर्ने नेताहरुलाई नियन्त्रणमा लिएपछि भारतीय जनताले बिद्रोह गरेर भारतमा व्रीटिस शासन अन्त्य भएको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबि सिंह यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मविव क्याम्पस राजविराजका प्रमुख डा.सुनिलचन्द्र दास, नेपाल – भारत मैत्री संघका मनोज मुन्ढाडा, अमित कुमार पाठकलगायतले कार्यक्रमले दुबैदेश वीचको सम्बन्धलाई थप सुमधुर बनाउदै सप्तरीको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एक्च्युवल फाउन्डेसन नेपालका अध्यक्ष डा. सूर्यप्रसाद यादव, उच्च बार राजविराज – जनकपुरका अध्यक्ष हरेराम यादव, पत्रकार महासंघका पूर्व सभापति विष्णु कुमार मण्डल, गैसस महासंघका केन्द्रीय उपाध्यक्ष ध्रुव कुमार देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली जगरनाथ मुन्धडा, दिपेन्द्र चौधरी,इर्साद अन्सारी,अरुण कुमार तिवारीलगायतले कार्यक्रमलाई परिणाममुखी बनाउन हनुमाननगरमा संग्राहलय निर्माण, जेला क्रान्तिको इतिहास दुबैदेशको पाठ्यक्रममा लागू गर्नुपर्नेमा जोड दिए ।
पत्रकार विनयलाल कर्णद्वारा संचालित कार्यक्रममा वरिष्ठ पत्रकार शिव नारायण साह ( सुरज)ले स्वागत गरे भने पत्रकार अवधेश कुमार झाले हनुमान नगर जेल क्रान्तिबारे जानकारी गराउँदै कार्यक्रमको उदेश्य बारे प्रकाश पारेका थिए ।