• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धितो राखेको जग्गा हडप्न कुटपिट गरेको आरोप

धितो राखेको जग्गा हडप्न कुटपिट गरेको आरोप
न्यूज टुडे
राजविराज,०२ जेठ ।
सप्तरीको रुपनी गाउँपालिका ३ का रुन्दीलाल मोचीले धितो राखेको जग्गा हडप्ने उदेश्यले साहुले आफू र छोरा सुरेन्द्र राममाथि निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । राजविराजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै शम्भुनाथ नगरपालिका ४ का साहु अजय कुमार साह नेतृत्वका समुहले कुटपिट गरि घाइते बनाएको उनले आरोप लगाएका हुन् । 
पत्रकार सम्मेलनमा बोल्दै मोचीले धितो राखेको जग्गा हड्प्न पूर्व साँसद जगदीश साहको योजनामा आफुहरुमाथि कुटपिट गरेको बताए ।
 साँसद साहको आमा दुर्गादेवी साहसंग २०७१ सालमा १७ लाख पचास हजारमा  साविक कटैया गाविस  किनं. ६१८ क्षेत्रफल १५ कट्ठा जग्गा खरिद गर्दा पैसा अपुग भएपछि डाक्नेश्वरी नपा १ का सुरेन्द्र विमल यादवसंग  धितो राखी ९ लाख  ॠण लिएँ” उनले भने, ॠण बुझाउने हैसियत आप्नो नभएपछि २०७३ सालमा ४ कट्ठा जग्गा बेचेर चार लाख बुझाएँ, फेरि २०७८ सालमा पुन: ३ कट्ठा जग्गा बेचेर ३ लाख तथा ४१ हजारसहित पटकपटक गरि ९ लाख ३४ हजार ५ सय बुझाएँ ।”
पटकपटक ॠण चुक्ता गर्दा समेत आफुलाई कुनै जानकारी नै नदिइ यादवले लिलादेवी सेठको नाममा जग्गा नामसारी गरि  बाँकी रहेको  किनं ६३०  क्षेत्रफल ८ कठ्ठा जग्गा राजविराज ८ का संतोष कुमार साहको नाम हुँदै हाल शम्भुनाथ नगरपालिका ४ का अजय कुमार साहलाई नामसारी गरेपछि विवाद सिर्जना भएको उनले  बताए।
पूर्व साँसद साहको इशारामा आफू र आफ्नो परिवारमाथि आक्रमण भएको मोचीको आरोप छ । 
जग्गा हडप्ने नियत देखेपछि २०८० पुस १ गते मिटर व्याज विरुद्ध निवेदन दिन बाध्य भएको पत्रकार सम्मेलनमा उनले बताए । मिटर व्याज विरुद्ध निवेदन जिल्ला प्रहरी कार्यालय सप्तरीमा विचारधीन अबस्थामा रहदै अजयले ३१ बैशाख २०८२ मा आफुमाथि  गुण्डागर्दी शैलीमा कुटपिट गर्दा आफुहरु साह्रै अन्यायमा परेको मोचीले पत्रकार सम्मेलनमा बताए । 
उनले आफ्नो जग्गा फिर्ताको पहल गरिदिन तथा कुटपिट गर्ने साहुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहयोगका लागि  स्थानीय प्रशासन र संचारकर्मीहरुसंग आग्रह गरे ।  सम्पत्तिको नाममा भएको ८ कठ्ठा जग्गा समेत वइमानी गर्ने प्रयास गरेपछि परिवार नै विचल्ली परेको उनले दुखेसो पोखे ।
यस विषयमा पूर्व साँसद साहसंग बुझ्दा आफुलाई केही थाह नभएको प्रतिक्रिया दिए ।  जग्गा हडप्ने तथा कुटपिटका आरोप लागेका साहसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।