न्यूज टुडे
राजविराज, ०१ जेठ ।
गृहमन्त्री रमेश लेखकले बाहिर हल्ला भएजस्तो बर्तमान गठबन्धन सरकारमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय राजविराजमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले बर्तमान सरकारले सुशासन र राष्ट्रिय हितको पक्षमा काम गरेको दावी गरे । उनले सरकारको १० महिने कार्यकालमा देशको अर्थतन्त्रमा सकारात्मक सुधार आएको उल्लेख गरे ।
सरकार बन्ने र ढल्ने हल्ला मात्र भएको बताउँदै उनले दुइदलीय सहमति अनुसार सरकार पुरै टिक्ने दावी गरे ।
सरकारले कसैसँग आग्रह पूर्वाग्रह राखेर तथा मुख ताकेर काम गर्दैन, कानूनभन्दा बाहिर सरकार कहिलै जाँदैन’ गृहमन्त्री लेखकले भने, कानूनको पालना गर्न बर्तमान गठबन्धन सरकारमा कुनै समस्या छैन, सानोतिनो समस्यालाई शिर्ष नेतृत्व बसेर तुरुन्तै सहमति गर्छौ ।’
सरकारको सम्बन्धमा हुने टिप्पणीको कुनै अर्थ नभएको बताउँदै उनले काँग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली वीच भएको सात बुँदे सहमतिभन्दा सरकार बाहिर नगएको जिकिर गरे । उनले अहिले निर्माण भएको गठबन्धनका कारण ३/ ३ महिनामा विश्वासको मत लिनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
गृहमन्त्री लेखकले बर्तमान सरकारले जनपक्षीय काम गरेको दाबी गर्दै जिल्ला प्रशासनसहित मातहतबाट दिइने सेवासुविधामा व्यापक सुधार आएको जिकिर गरे ।
सरकारी कार्यालयहरुबाट नागरिकले लिने सेवासुविधामा हुने ढिलासुस्तीलाई सुधार गरि हाल प्रभावकारी ढंगले काम भईरहेको उनले बताए । सरकारले दिने सेवा प्रवाहमा कमी आउन नदिने बताउँदै उनले सरकारी कार्यालयबाट भएको कमीकमजोरीलाई उजागर गरिदिन पत्रकारहरुलाई आग्रह गरे ।
बर्तमान सरकारले विधेयक संसदबाट पारित गरि कानून निर्माण गरि नागरिकता तथा कुनैपनि नीतिगत समस्यालाई हल गरि जनपक्षीय कार्य गरेको उनको भनाइ छ । कतिपय विधेयक साँसदमा दर्ता गरि कानून निर्माणको तयारीमा रहेको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद दिनेश कुमार यादव, काँग्रेस जिल्ला सभापति रामदेव साहलगायतका समेत उपस्थित रहेको थियो ।।