मधेस प्रदेश सरकारका प्रबक्ता एवम् गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले बुद्धको सन्देश अहिले पनि विश्वकै लागि अति सान्दर्भिक रहेको बताएका छन् । नेपाल मगर संघ सप्तरीको आयोजना तथा बौद्ध जागरण सिंह विहार प्रशवनी र थारु बुद्ध विहार गुम्बा मट्टीगढाको सहकार्यमा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा सोमबार आयोजित साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले सामाजिक विकृति न्यूनीकरण गर्न र विश्वमा शान्ति स्थापना गर्न बुद्धको संदेश अति सान्दर्भिक रहेको बताए । उनले दिगो शान्ति र सामाजिक रुपान्तरणका लागि बुद्धको उपदेश सबैले अनुसरण गर्नुपर्नेमा जोड दिए ।
समाजमा लागूऔषध दुर्व्यवसनीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री लेखीले यसलाई रोक्न बुद्धको शान्ति मार्गलाई उठान गर्न सामाजिक संघसंस्थाहरुको भुमिका अपरिहार्य रहेको बताए ।
पौराणिक थारु गित तथा नृत्य । फोटो : न्यूज टुडे
‘समाजका सम्बाहकको रुपमा रहेको यूवा पुस्ता लागू औषध दुर्व्यवशनीको चरम दलदलमा फँसेका छन् मन्त्री लेखीले भने,’थारु कल्याण कारिणीसभा, नेपाल तामाङ घेदुङ, मगर संघ जस्ता सामाजिक संस्थाको पछिल्लो ५- ६ बर्षको भुमिका संतोषजनक पटकै छैन, यी संस्थाहरुले साँस्कृतिक कार्यक्रमलाई बढी केन्द्रित गर्दा समाजिक समस्या तथा पहिचान प्रतिनिधि र अधिकार प्राप्तिको सबाल ओझेलमा पर्ने भएको हुँदा यसमा सुधार गर्नु जरुरी छ।’
उनले यूवापुस्तामा बढ्दै गएको नकारात्मक क्रियाकलापलाई रोक्न बुद्धको संदेशसहितको जनचेतनामूलक कार्यक्रम टोल तथा बस्तीहरुमा संचालन गर्न जातीय संस्थाहरुलाई आग्रह गरे ।
तामाङ गीतमा नृत्य प्रस्तुत गर्दै तामाङ कलाकार ।।फोटो : न्यूज टुडे
मन्त्री लेखीले व्यवस्था परिवर्तनको आन्दोलन अझै नटुङ्गिएले सामाजिक संघसंस्थाहरु थप सक्रिय हुनुपर्नेमा जोड दिए । उनले आदिवासी जनजातिसहितको पहिचानको आन्दोलनबाट राज्यको संरचना फेरीएपनि संविधानमा उल्लेख भएको स्वायत्त क्षेत्र र स्वायत्त ईलाका अझै कार्यान्वयनमा नल्याएको भन्दै आक्रोश पोखे ।।
राज्यको संरचना निर्माणको क्रममा अल्पसंख्यमा परेकोजाति समुदायको विषेश अधिकारका लागि स्वायत्त ईलाका र क्षेत्र गठन गर्नुपर्ने उनको भनाइ थियो ।
नृत्य प्रस्तुत गर्दै मगर पोशाकमा सजिएकी स्थानीय कलाकार । फोटो : न्यूज टुडे
मन्त्री लेखीले बुद्ध जयन्तीको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रमले भाषा, धर्म, संस्कृतिको प्रबर्द्धन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसलाई बृहत रुपमा अगाडि बढाउन सुझाव दिए । उनले सबै जातजातिको भाषा, धर्म,कला संस्कृति संरक्षणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल मगर संघ सप्तरीका अध्यक्ष लिल बहादुर मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, प्रतिनिधि सभा निर्वाचन २०७९ मा सप्तरी निर्वाचन क्षेत्र नम्बर १की प्रत्यासी उम्मेदवार टिकालक्ष्मी चौधरीलगायतले समाजलाई शान्तिको मार्गमा डोर्याउन बुद्धको उपदेश पालन गर्नुपर्नेमा जोड दिए ।
नेपाल मगर संघ सप्तरीका सह- सचिब सरोज राना मगर र वरिष्ठ उद्घोषक पर्विन चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत गीत विन्तिलाल चौधरीले प्रस्तुत गरेका थिए भने बुद्ध बन्दना सहित स्वागत मन्तव्य थारु बुद्ध विहार गुम्बा मट्टीगढाका अध्यक्ष एवम् धर्मोदय सभा सप्तरीका अध्यक्ष महेश कुमार चौधरीले गरे ।
कार्यक्रममा राष्ट्रिय कलाकार दिल कुमारी चौधरी, वरिष्ठ कलाकार अन्जनी सिंह, टिक बहादुर तामाङ, आरती थिङ, डोल्मा तामाङलगायतका स्थानीय कलाकारहरुले विभिन्न जातीय पौराणिक गीत संगित प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी कलाकारहरुलाई मन्त्री लेखीले नगद पुरस्कारसहित सम्मान गरे ।
यसअधि बौद्ध जागरण सिंह विहार प्रशवनी र थारु बुद्ध विहार गुम्बा मट्टीगढाको प्राङ्गणबाट सयौंको संख्यामा विभिन्न जातिको झाकीसहित निकालिएको शान्तिपद यात्रा प्रशवनी बजार र रामजानकी बजार मट्टीगढा परिक्रमा गरि पुनः सोही स्थानमा पुगेर समापन गरिएको थियो ।