न्यूज टुडे
राजविराज, २६ बैशाख ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव एवम् मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ‘आतंकवादविरुद्ध एकजुट संसारको आवश्यकता’ भएको उल्लेख गरेका छन् । भारतले हालै सञ्चालन गरेको “अपरेसन सिन्दूर” बारे सामाजिक संजालमा शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।
‘भारतले पाकिस्तान विरुद्ध गरेको अपरेसन सिंदुर केवल सुरक्षा कारबाही मात्र होइन, आतंकवादविरुद्धको एक गहिरो राजनीतिक तथा नैतिक सन्देश पनि हो।’ उनले भनेका छन् , ‘यो अपरेसनले अन्तर्राष्ट्रिय समुदायसमक्ष यो स्पष्ट पारेको छ कि आतंकवादजस्तो अमानवीय, विध्वंसात्मक र सभ्यताविरोधी प्रवृत्तिको सामना गर्न अब सम्झौताहीन दृष्टिकोण आवश्यक छ।”
‘आतंकवाद कुनै एक राष्ट्रको समस्या होइन, यो सम्पूर्ण मानव सभ्यताको साझा चुनौती हो। निर्दोष नागरिकको ज्यान लिने, सामाजिक शान्तिलाई भंग गर्ने र आर्थिक तथा संरचनात्मक विकासमा बाधा पुर्याउने यस्ता हिंसात्मक गतिविधिहरूले आज सम्पूर्ण विश्व नै अस्थिर बनिरहेको छ। यस्ता चुनौतीहरूको सामना गर्नु हरेक सार्वभौम राष्ट्रको कर्तव्य मात्र होइन, अन्तर्राष्ट्रिय दायित्व पनि हो उनले उल्लेख गरेका छन् ।
“अपरेसन सिन्दूर” जस्तो कदमले के संकेत गर्छ भने अब प्रतिक्रियात्मक होइन, सक्रिय र रणनीतिक पहल आवश्यक भइसकेको छ’ पूर्वमन्त्री साहले भनेका छन्, सूचना आदानप्रदान, सीमा सुरक्षा सुदृढीकरण, आतङ्कवादको वित्तीय स्रोत नियन्त्रण, र चरमपन्थी विचारधाराविरुद्ध सामाजिक सचेतना अभियानहरूमा साझा प्रयास अनिवार्य छन्।’
शान्ति, सुरक्षा र स्थायीत्वका लागि आज विश्वले एकजुट दृष्टिकोण अवलम्बन गर्नुपर्छ। यसका लागि राजनीतिक इच्छाशक्ति, अन्तरराष्ट्रिय सहयोग र दृढ प्रतिवद्धता अपरिहार्य रहेको उनको भनाइ छ ।
अन्ततः, आतंकवादको पूर्ण उन्मूलनका लागि केवल सैन्य कारबाही पर्याप्त हुँदैन; सामाजिक, राजनीतिक र कूटनीतिक तहमा पनि स्पष्ट नीति र सामूहिक प्रतिबद्धता जरुरी छ। “अपरेसन सिन्दूर” ले यही पाठ सिकाएको छ—शान्तिका लागि लचिलो होइन, दृढ र एकीकृत सङ्घर्ष आवश्यक छ’ मन्त्री साहले उल्लेख गरेका छन् ।